काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पाँच पूर्वअध्यक्षसहितको प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याललाई आगामी मध्यपूर्व क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा गरेको छ।
प्रतिनिधिमण्डलले सभामुख अर्यालसँग भेट गरी आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन निमन्त्रणा दिएको हो।
भेटमा गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐन, नेपालको आर्थिक तथा सामाजिक विकासमा गैरआवासीय नेपालीको योगदान, लगानी, विप्रेषण तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकका हकहितबारे छलफल भएको थियो।
प्रतिनिधिमण्डलमा पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके शर्मा र विनोद कुँवर, संस्थापक सदस्य रामप्रताप थापा, उपाध्यक्ष रोजिना प्रधान राई तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत सहभागी थिए।
भेटका क्रममा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्था भएकाले यसको एकता र संस्थागत सुदृढीकरणमा राज्यको अभिभावकीय भूमिका आवश्यक रहेको बताए। पूर्वअध्यक्ष जीवा लामिछानेले गैरआवासीय नेपालीका सरोकारलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए।
प्रमुख संरक्षक तथा निवर्तमान अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन र रसुवा–भोटेकोशी विपद्पछिको राहत तथा पुनर्स्थापनामा सरकारसँग सहकार्य गर्ने विषय उठाए। पूर्वअध्यक्ष विनोद कुँवरले नागरिकताको प्रभावकारी कार्यान्वयन नहुँदा विदेशमा रहेका नेपालीले भोग्नुपरेका कानुनी तथा व्यावहारिक समस्याबारे जानकारी गराए।
प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली ऐन यथाशीघ्र सदनमा प्रस्तुत गरी पारित गर्ने प्रक्रियामा सहजीकरण गर्न सभामुखसँग आग्रह गरेको थियो।
नेपाल भित्रिने कुल विप्रेषणको ५० प्रतिशतभन्दा बढी हिस्सा मध्यपूर्वलगायत क्षेत्रबाट आउने गरेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हकहित, सुरक्षा र सम्मानका विषयमा नीतिगत पहल गर्न पनि आग्रह गरेको थियो।
त्यसैगरी, विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पुँजीलाई राष्ट्रिय विकाससँग जोड्न तथा १० अर्ब रुपैयाँको लगानी परियोजनामार्फत उनीहरूको सहभागिता बढाउनुपर्नेमा जोड दिइएको थियो।
सभामुख अर्यालले एनआरएनए सबै नेपालीको साझा संस्था भएकाले यसलाई एकताबद्ध र बलियो बनाउनुपर्ने बताए। संस्थाभित्र अनावश्यक राजनीतिक गतिविधि हुन नहुने उल्लेख गर्दै उनले स्थापनाकालीन उद्देश्य र अहिलेको व्यावहारिक अवस्थाबीच देखिएको अन्तरप्रति दुःख व्यक्त गरे।
गैरआवासीय नेपालीका सरोकारलाई संविधानको भावनाअनुसार महत्त्व दिने बताउँदै सभामुख अर्यालले सम्मेलनमा सहभागी हुने विषयमा आफ्नो कार्यव्यस्तता हेरेर निर्णय गर्ने जानकारी दिए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com