info@nawayug.com

सुरुङ खनेर जेलबाट भागेका थप दुई कैदी पक्राउ, चार जना बेपत्ता

डोल्पा । डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीको विवरण सार्वजनिक भएको छ। फरार हुनेमा जबरजस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना रहेका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार शुक्रबार मध्यराति उनीहरू कारागारबाट फरार भएका हुन्। फरार हुने आठ जनामध्ये छ जना कैद सजाय भुक्तान गरिरहेका र दुई जना पुर्पक्षका लागि थुनामा रहेका व्यक्ति रहेको प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए।

जबरजस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका फरार हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का राम विक, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ का कालिप्रसाद रोकाया, वडा नम्बर ४ का हरिबहादुर बुढा, सल्यानको कुमाख गाउँपालिका–५ का रेशम राना र जाजरकोटको बारेकोट गाउँपालिका–१ का यज्ञ विक रहेका छन्।

त्यस्तै, चोरी मुद्दामा कैद भुक्तान गरिरहेका जाजरकोटको नलगाड नगरपालिका–९ का कैलाश भन्ने कपिल परियार पनि फरार भएका छन्। चोरी मुद्दामै पुर्पक्षका लागि थुनामा रहेका रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–५ का तिलक भण्डारी र वडा नम्बर ३ का आदेश भण्डारीसमेत फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कारागारमा रहेका १७ जना कैदीबन्दी तथा थुनुवामध्ये आठ जना सुरुङ खनेर भागेका थिए। उनीहरूले कैदीबन्दी बस्ने कोठाबाट पुरानो सेप्टी ट्याङ्की हुँदै बाहिर खेलमैदानतर्फ करिब ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ खनेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

शनिबार बिहान ६ बजे कैदीबन्दीको गणना गर्ने क्रममा आठ जना अनुपस्थित भेटिएपछि घटना सार्वजनिक भएको थियो। त्यसलगत्तै प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकाल र प्रहरी नायब उपरीक्षक गिरीसहितको टोलीले कारागार पुगेर घटनास्थलको निरीक्षण गरेको थियो।

फरार कैदीबन्दीको खोजीका लागि जिल्लाका विभिन्न नाकामा सुरक्षा निगरानी कडा पार्नुका साथै सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।

कारागारभित्रै सुरुङ खनेर एकैपटक आठ जना फरार भएपछि कारागारको आन्तरिक सुरक्षा र निगरानी व्यवस्थामाथि प्रश्न उठेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया