विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ।
उद्योग सङ्गठन मोरङले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै एक्स्पोको तयारी, उद्देश्य र कार्यक्रमबारे जानकारी गराएको हो । सङ्गठनका अध्यक्ष नन्दकिशोर राठीका अनुसार यस पटकको एक्स्पो विगतका संस्करणभन्दा फरक अवधारणामा आयोजना गर्न लागिएको छ। एक्स्पोको मूल नारा ‘द इकोसिस्टम अफ अपरच्युनिटिज’ राखिएको छ।
करिब तीन दशकअघि उद्योग, उत्पादन र व्यापारलाई एउटै थलोमा जोड्ने उद्देश्यले सुरु भएको विराट एक्सपो यसपटक उद्योगी, व्यवसायी, युवा, विद्यार्थी, लगानीकर्ता तथा उद्यमीलाई अवसरसँग जोड्ने व्यावसायिक प्लेटफर्मका रूपमा विकास गर्न खोजिएको अध्यक्ष राठीले बताए।
‘आज उद्योगलाई केवल बजार चाहिएको छैन, दक्ष जनशक्ति, स्टार्टअपलाई लगानी, युवालाई अवसर, विद्यार्थीलाई करियरको मार्ग र लगानीकर्तालाई सम्भावना चाहिएको छ,’ आयोजकको अवधारणा प्रस्तुत गर्दै राठीले भने, ‘त्यसैले यस पटकको एक्स्पो स्टलको प्रदर्शनीमा मात्र सीमित नभई अवसरको आधारमा डिजाइन गरिएको छ।’
यस वर्ष एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्ममार्फत विभिन्न गतिविधि सञ्चालन गरिनेछन् । विद्यार्थी तथा युवालाई करियर मार्गदर्शन, स्थानीय उद्योगको जानकारी, रोजगारी र सीप विकासका अवसरसँग जोड्ने उद्देश्यले ‘लर्न फर द फ्युचर’ कार्यक्रम सञ्चालन हुनेछ । यसअन्तर्गत औद्योगिक स्वचालन, फेसन डिजाइन, कृषि, आतिथ्य सेवा, सौन्दर्य तथा वेलनेस र स्वास्थ्य लगायत आठ क्षेत्रमा सीप तथा तालिमसम्बन्धी विशेष कार्यक्रम रहनेछन्।
त्यस्तै, ‘स्टार्टअप एन्ड इन्टरप्रेनर सिप प्याभिलियन’मा नयाँ सोच, नवप्रवर्तन र उद्यमशीलतालाई प्रोत्साहन गरिनेछ। यसअन्तर्गत मेकर स्पेस, डिजाइन थिंकिङ, बुट क्याम्प तथा नयाँ र वृद्धि उन्मुख उद्यमहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
उद्योग तथा व्यवसायलाई आवश्यक पर्ने दर्ता, कानुनी परामर्श, ब्रान्डिङ, प्याकेजिङ, गुणस्तर परीक्षण, प्रमाणीकरण, लजिस्टिक्स र बजार पहुँचसम्बन्धी सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘बिजनेस डेभलपमेन्ट सर्भिसेज कनेक्ट’ प्लेटफर्म पनि रहनेछ।
एक्स्पोको अर्को मुख्य आकर्षण ‘विराट बिजनेस समिट २०२६–अपरच्युनिटी कनेक्ट’ हुनेछ । तीन दिनसम्म सञ्चालन हुने समिटमा देशभरका उद्योगी, व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी हुनेछन् । समिटमा ‘इन्भेस्ट एन्ड बिल्ड’, ‘कनेक्ट एन्ड एक्सपान्ड’ तथा ‘इन्फ्लुएन्स एन्ड ग्रो’ गरी तीन वटा विषयमा छलफल तथा व्यावसायिक अन्तरक्रिया हुनेछन् ।
समिटका क्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले आ–आफ्नो क्षेत्रको आर्थिक तथा व्यावसायिक सम्भावना प्रस्तुत गर्ने कार्यक्रम छ। तीन दिनमा १४ वटै जिल्लाको अवसर प्रस्तुतीकरण, नेपाल–भारत तथा नेपाल–बङ्गलादेश बिजनेस फोरम, बीटुबी मिटिङ र विषयगत प्लेनरी संवादसमेत आयोजना गरिनेछ।
यस पटकको एक्सपोमा ‘अपरच्युनिटी वाल’ पनि विशेष आकर्षणका रूपमा रहनेछ। यसमा जिल्लागत तथा स्थानीय सरकारका लगानीका सम्भावना, स्थानीय उत्पादन, पूर्वाधार, उद्योग व्यवसायका लागि आवश्यक कच्चा पदार्थ, प्रविधि, बजार र साझेदारीका अवसर प्रस्तुत गरिनेछ । आयोजकले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घलाई समेत यसमा सहभागी हुन आग्रह गरेको छ।
त्यसैगरी, एक्स्पोमा विभिन्न क्षेत्रका उत्पादन, सेवा, प्रविधि, कृषि, अटोमोबाइल्स, खाद्य तथा मनोरञ्जनात्मक गतिविधि समेटेर व्यावसायिक प्रदर्शनी गरिनेछ। हरेक साँझ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ।
२७५ भन्दा बढी स्टल, १४ जिल्लाका उत्पादनलाई प्राथमिकता
आयोजकका अनुसार यस वर्ष एक्स्पोमा करिब १५० औद्योगिक तथा कर्पोरेट स्टल, १५ प्रायोजकका लागि विशेष बुथ, ५० कृषि तथा साना उद्यमका स्टल, २० अटोमोबाइल स्टल, १२ खाद्य स्टल, १० बिजनेस डेभलपमेन्ट सर्भिसेज स्टल, १० तालिम प्रदायकका स्टल र १० साना तथा वृद्धि उन्मुख उद्यमका स्टल रहनेछन्।
यसका अतिरिक्त बाल उद्यम, शैक्षिक संस्था, स्वास्थ्य संस्था, बैंक तथा वित्तीय संस्था र अन्य सेवा प्रदायक संस्थाहरूको पनि सहभागिता रहनेछ।
कोशी प्रदेशका १४ वटै जिल्लाका कृषि, महिला, घरेलु तथा साना उद्यमीका उत्पादनलाई विशेष प्राथमिकता दिइने आयोजकले जनाएको छ। सुनसरी–मोरङ औद्योगिक करिडोरका प्रमुख औद्योगिक उत्पादनसमेत एक्सपोमा विशेष रूपमा प्रस्तुत गरिनेछन्।
२ लाख ५० हजार अवलोकनकर्ता आउने अपेक्षा
आयोजकले यस वर्षको एक्स्पोमा करिब दुई लाख ५० हजार अवलोकनकर्ता, ३०० भन्दा बढी कम्पनी तथा संस्थाको सहभागिता, २५ हजार विद्यार्थीको उपस्थिति र एक हजार पाँच सयभन्दा बढी व्यावसायिक म्याचमेकिङ तथा सम्पर्क निर्माणको लक्ष्य राखेको छ।
त्यस्तै, करिब दुई हजार युवालाई रोजगारीका अवसरसँग जोड्ने र कम्तीमा २० वटा लगानीयोग्य स्टार्टअप तथा उद्यमशील परियोजनालाई लगानीकर्तासमक्ष प्रस्तुत गर्ने लक्ष्यसमेत राखिएको छ।
एक्स्पोको तयारी तीव्र रूपमा अघि बढिरहेको आयोजकले जनाएको छ। स्टल बुकिङ, प्रायोजक तथा सहभागी संस्थाहरूसँगको समन्वय, कार्यक्रमको तयारी, प्रदर्शनी क्षेत्रको व्यवस्थापन, आधिकारिक वेबसाइट, अनलाइन स्टल बुकिङ प्रणाली, थ्रीडी भर्चुअल टुर तथा विस्तृत मास्टर प्लान तयार पार्ने काम भइरहेको छ।
यस वर्षको एक्स्पोमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स टाइटल स्पोन्सर रहेको छ। त्यसैगरी, शिखर इन्स्योरेन्स र म्याजिक फुटवेयर डायमन्ड स्पोन्सर, नबिल बैंक र एनएलजी इन्स्योरेन्स गोल्ड स्पोन्सर तथा पीएलओ लुब आयल र काबरा समूह सिल्भर स्पोन्सर रहेका छन्।
एक्स्पोको प्रवर्द्धक संस्थाका रूपमा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, विराटनगर महानगरपालिका, नेपाल उद्योग वाणिज्य महासङ्घ र कोशी प्रदेश रहेका छन् ।
आयोजकले विराट एक्स्पो २०२६ लाई व्यापार मेला मात्र नभई नेपालको औद्योगिक तथा व्यावसायिक सम्भावनालाई जोड्ने बिजनेस इकोसिस्टम प्लेटफर्मका रूपमा स्थापित गर्ने लक्ष्य राखेको जनाएको छ। एक्स्पोमा उद्योगी, व्यवसायी, विद्यार्थी, युवा, उद्यमी, उपभोक्ता तथा सर्वसाधारणलाई सहभागी हुन आयोजकले आग्रह गरेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com