काठमाण्डौं । तातो हावा तथा लहरको जोखिमबाट जोगिन पूर्वतयारी आवश्यक रहेकोमा सरकारी तथा गैरसरकारी निकायले जोड दिएका छन् ।
अत्यधिक गर्मी जोखिम न्यूनीकरण अर्थात् ‘हिट एक्सन डे’ को अवसरमा नेपाल रेडक्रस सोसाइटी, अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घ (आईएफआरसी)लगायतका सङ्घसंस्थाले काठमाण्डौमा गरेको कार्यक्रममा तातो हावा तथा लहरबाट जोगिन तीनै तहका सरकार र साझेदार निकायबीच सहकार्य तथा समन्वय आवश्यक रहेकोमा जोड दिइएको हो ।
कार्यक्रममा गृह मन्त्रालयका सहसचिव सुरेश पन्थीले जलवायु जन्य बढ्दो जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि मन्त्रालयले कार्य योजना स्वीकृत गरी लागू गरिसकेको बताउनुभयो । साथै उहाँले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत अत्यधिक जोखिममा रहेका र धेरै जनसङ्ख्या भएका सम्भावित जोखिम भएका जिल्लामा सन्देश प्रवाह भइरहेको बताउनुभएको छ ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले तापक्रम मात्र नभई हावा, आर्द्रता जस्ता विभिन्न आयामलाई ध्यानमा राखेर गर्मी सम्बन्धी जोखिमको मूल्याङ्कन गर्न आवश्यक रहेकामा जोड दिनुभयो । यस वर्ष औसतभन्दा कम वर्षा हुने सम्भावना देखिएको र यसको आधारमा गर्मीको लहर तथा अत्यधिक गर्मीका दिनहरू बढ्न सक्ने अनुमान गरिएको जानकारी दिनुभयो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले सरोकारवाला विज्ञबीचको छलफलबाट आउँदा दिनमा सरकार तथा विभिन्न साझेदार संस्थासँगको सहकार्यमा रणनीति निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । डिपी नेपालका अध्यक्ष डा। बसन्तराज अधिकारीले पछिल्लो समय विश्वव्यापी तापक्रम वृद्धि भइरहेका बेला गर्मीका चुनौतीहरू केवल तराई क्षेत्रमा मात्र सीमित नरहेको र यसको सामनाका लागि विस्तृत अनुसन्धान र नवप्रवर्तन आवश्यक रहेको बताउनुभएको छ ।
तातो हावा वा तातो लहरबाट बच्न दिउँसो सकेसम्म घाममा घरबाहिर ननिस्कने, निस्कनु परेमा पातलो कपडाले टाउको छोप्ने, छाता ओढ्ने, छहारीमा बस्ने, प्रशस्त्र पानी अनि झोलिलो खानेकुरा खाने, खेतबारीमा सरभर बिहान र बेलुका काम गर्ने, धेरै थकान र अचेत हुने जस्ता लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा जान सल्लाह छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com