काठमाडौं । पश्चिमी युरोपका विभिन्न देशहरूमा अत्यधिक गर्मीको लहर फैलिँदा फ्रान्स, बेलायत र स्पेनमा तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ । लाखौँ मानिस अत्यधिक गर्मीको मारमा परेका छन् भने विभिन्न देशहरूले उच्च सतर्कता जारी गरेका बीबीसीले जनाएको छ ।
पेरिसमा तापक्रम झण्डै ४१ डिग्री सेल्सियस पुगेको छ भने देशका धेरै ठाउँमा ३९ देखि ४३ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको छ । पश्चिमी फ्रान्सका केही क्षेत्रमा ४३ डिग्री सेल्सियससम्म तापक्रम पुगेपछि देशको आधाभन्दा बढी भूभागमा ‘रेड हीट अलर्ट’ जारी गरिएको छ ।
अत्यधिक गर्मीका कारण पेरिसका प्रसिद्ध पर्यटकीय स्थल लुभ्र संग्रहालय र आइफेल टावर निर्धारित समयभन्दा अगावै बन्द गरिएका छन् । पछिल्लो एक हप्तामा फ्रान्समा गर्मीसँग सम्बन्धित घटनामा कम्तीमा ४० जनाको ज्यान गएको छ । वन डढेलोको जोखिम बढेपछि विभिन्न क्षेत्रमा सयौँ अग्निनियन्त्रक परिचालन गरिएका छन् ।
बेलायतमा पनि हिजो तापक्रम ३६.१ डिग्री सेल्सियस पुगेको छ, जुन जुन महिनामा हालसम्मकै उच्च तापक्रम मानिएको छ । मौसमविद्हरूले तापक्रम ३८ डिग्री सेल्सियससम्म पुग्न सक्ने चेतावनी दिएका छन् ।
स्पेनमा सोमबार र मङ्गलबारको दैनिक औसत तापक्रम क्रमशः २८.०८ र २८.१७ डिग्री सेल्सियस पुगेको छ, जुन सन् १९५० यताकै सबैभन्दा उच्च जून महिनाको औसत तापक्रम हो । उत्तरी स्पेनका केही क्षेत्रमा तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
इटालीका १६ शहरमा ‘रेड अलर्ट’ जारी गरिएको छ भने जर्मनी, नेदरल्यान्ड्स र बेल्जियममा पनि आगामी दिनमा तापक्रम अझ बढ्ने पूर्वानुमान गरिएको छ । जर्मनीका केही क्षेत्रमा खडेरीको जोखिम बढेपछि पानीको मितव्ययी प्रयोग गर्न आग्रह गरिएको छ भने केही शहरमा बारबेक्यु गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोप विश्वको औसतभन्दा दोब्बर गतिमा तातिरहेको छ । यसले गर्मीका लहर, खडेरी, पानीको अभाव र वन डढेलोजस्ता समस्या झन् तीव्र बनाउँदै लगेको छ । मौसमविद्हरूले फ्रान्ससहित केही देशमा शुक्रबारदेखि तापक्रम क्रमशः घट्न सक्ने अनुमान गरे पनि पूर्वी युरोपका पोल्यान्ड, क्रोएसिया र हंगेरीलगायत देशमा भने आगामी दिनमा भीषण गर्मी फैलिने चेतावनी दिएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com