info@nawayug.com

सरकारले सय दिनमा अभूतपूर्व काम गरेको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सय दिनको अवधिमा अभूतपूर्व काम गरेको दाबी गर्नुभएको छ ।

मङ्गलवार राष्ट्रिय सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो जिकिर गर्नुभएको हो । मन्त्री वाग्लेले सरकारले सय बुँदामा तोकेका कामहरूमध्ये ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते गर्नु आफैँमा अभूतपूर्व भएको तर्क गर्नुभयो ।

उहाँले विधेयकलगायतका विषयहरू सरकारको मात्रै नियन्त्रणमा नभएकाले सोचेअनुसार अघि बढ्न नसकेको स्पष्टीकरणसमेत दिनुभयो । उहाँका अनुसार अर्थ मन्त्रालयले भने सय बुँदा सङ्कल्पमध्ये आफ्नो जिम्मेवारीमा परेका सबै काम फत्ते गरेको छ ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो, “सय दिनको प्रसङ्ग आएको रहेछ । अघि नै मैले निवेदन गरिसकेँ– सरकारको आन्तरिक मूल्याङ्कनमा ८७ दशमलव २ प्रतिशत कार्यक्रमहरू फत्ते भएका छन् । यो आफैँमा अभूतपूर्व हो । आफैँले एकदमै जटिल मापदण्ड तोकेर त्यसमा खरो उत्रनका लागि सरकारले इमानदार रूपमा प्रयास गरिरहेको छ । केही कामहरू निरन्तर रूपमा अघि बढिरहेका छन् । विधेयक पेस गर्नेजस्ता कुराहरू हाम्रो नियन्त्रणमा मात्रै नभएका हुनाले पनि यसलाई अघि बढाउने कुरामा हामी सचेत नै छौँ । अर्थ मन्त्रालयले सय बुँदामा भनिएका आफ्ना सबै कामहरू फत्ते गरेको छ ।”

अर्थमन्त्री वाग्लेले सरकारले निर्वाचनअघि जनतासामू गरेको वाचाअनुसार नै प्रतिबद्ध भएर काम गरिरहेको पनि बताउनुभयो ।

प्रतिक्रिया