मकवानपुर । कोरिया रिटर्नीहरुको साझा संस्था अङ्कुर नेपाल मकवानपुरले हिजो हेटौंडास्थित होटल ब्रान्डमा 'Meet & greet’ कार्यक्रम आयोजना गर्दै मकवानपुर क्षेत्र नं- १ का प्रत्यक्ष तर्फका उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) लाई एकढिक्का भएर सघाउने घोषणा गरेको छ।
कार्यक्रममा बोल्दै अङ्कुर नेपाल मकवानपुरका अध्यक्ष किशोर डंगोलले पार्टी, विचार र आस्था जहाँ जे भए पनि प्रवासीको पीडा बुझेका, अनुभवले परिपक्व र सामाजिक योगदानका आधारमा नेतृत्व गर्ने क्षमता भएका व्यक्ति तेजप्रसाद उप्रेती नै भएको बताए।
उनले कोरियाबाट फर्किएका, कोरियामा कार्यरत तथा अन्य देशमा रहेका सम्पूर्ण मकवानपुरवासीलाई श्रमिक र प्रवासीको आवाज उठाउन सक्ने नेतृत्वलाई जिताउन आग्रह गर्दै “जिल्लाको समग्र विकासका लागि मनदेखि मत दिएर विजय गराऔं, मेरो एक भोट उद्घाटन स्वरूप” भन्ने घोषणा गरेका थिए।
यसैगरी, मकवानपुर कोरिया मञ्चका पूर्व अध्यक्ष शम्भु पुडासैनीले विभिन्न संघ–संस्थामा सफल नेतृत्व सम्हालिसकेका व्यक्तिलाई जनप्रतिनिधिको रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले प्रवासी नेपालीको हक–हित, श्रमिक समस्या र जिल्लाको विकासलाई प्राथमिकता दिने सक्षम नेतृत्वलाई जिताउन सबै एकजुट हुनुपर्ने धारणा राखे।
भेलामा मकोमका संस्थापक अध्यक्ष श्रीकृष्ण ढकाल, आरिराङ कोरियन ल्याङ्ग्वेज सेन्टरका सञ्चालक सुबेन्द्र मुक्तान तथा टुडल ल्याङ्ग्वेज सेन्टरका सञ्चालक हिरालाल स्याङतानलगायतले मन्तव्य राख्दै प्रवासी अनुभवलाई स्थानीय विकाससँग जोड्ने नेतृत्वको आवश्यकता औंल्याएका थिए।
कार्यक्रमको सञ्चालन अङ्कुर नेपाल मकवानपुरका सचिव माधव सापकोटाले गरेका थिए। कार्यक्रममा कोरियाबाट फर्किएका र हाल विदेशमा कार्यरत परिवारका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
अङ्कुर नेपाल मकवानपुरले आगामी दिनमा पनि प्रवासी श्रमिकका मुद्दा, सीप हस्तान्तरण र जिल्लाको समृद्धिका लागि साझा पहललाई निरन्तरता दिने जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com