info@nawayug.com

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना

मकवानपुर ।  हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी राष्ट्रिय पार्टी बन्ने सम्भावना प्रबल बनेको छ।

मध्याह्न १२ बजेसम्मको मतगणना अनुसार श्रम संस्कृतिले २ लाख ९७ हजार ८३ मत पाएको छ।

निर्वाचन आयोगका अनुसार मध्याह्नसम्म ४० लाख ९४ हजार ६५९ मत गणना भएको छ। यसअनुसार श्रम संस्कृतिले ३.५० प्रतिशत मत प्राप्त गरेको छ।

राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत अनिवार्य गरिएको छ।

प्रत्यक्षतर्फ सुनसरी-१ बाट हर्क स्वयम् निर्वाचित भएका छन् भने भोजपुरमा ध्रुवराज राई र खोटाङमा आरेन राई श्रम संस्कृतिबाटै निर्वाचित भएका छन्।

समानुपातिकमा श्रम संस्कृति पार्टीले यही अनुपात कायम राखेको खण्डमा उसको राष्ट्रिय दलको मान्यता सुनिश्चित हुनेछ।

फागुन २१ को निर्वाचनमा १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो। निर्वाचनको ट्रेण्ड हेर्दा ५ लाख हाराहारिमा मत बदर हुने देखिन्छ।

यो हिसाबमा राष्ट्रिय दलको मान्यता पाउन ३ लाख १२ हजार हाराहारिमा मत प्राप्त गर्नुपर्नेछ। त्यसअनुसार श्रम संस्कृति पार्टीलाई अब कम्तिमा १५ हजार मत मात्रै आवश्यक पर्छ।

समानुपातिकमा कोशीकै जिल्लाहरूमा मतगणना बाँकी भएकाले पनि श्रम संस्कृति पार्टीले राष्ट्रिय दलको मान्यता पाउने सम्भावना प्रबल बनेको हो।

भोजपुरमा अझै आधाभन्दा बढी मत गन्न बाँकी नै छ। त्यहाँबाट निर्वाचित भएका ध्रुवराज राईले १६ हजार ६६३ मत पाएका छन्।

मुख्य निर्वाचन अधिकृत नारायण प्रसाद दाहालका अनुसार समानुपातिकतर्फ ५८ हजार मत खसेकोमा २० हजार मात्रै गनेर सकिएको छ। बाँकी २८ हजार मत गन्न अझै बाँकी छ।

अहिलेसम्म गणना भएकोमध्ये सबैभन्दा बढी मत श्रम संस्कृतिले नै पाएको छ। उसले ५ हजार ९३५ मत प्राप्त गर्दा एमालेले ४ हजार ४४४ मत ल्याएको छ।

संखुवासभा, इलाम-१, अछाम-२, बाजुरा, गोरखाको दुबै क्षेत्र, धनुषाको १ र २ गन्न बाँकी रहेकाले पनि श्रम संस्कृति राष्ट्रिय पार्टी बन्ने सम्भावना प्रबल बनेको हो।

प्रतिक्रिया