काठमाडौं । अमेरिकाको मिसिसिपी राज्यमा अहिले सिनेट निर्वाचनको मतगणनाले सबैको ध्यान खिचेको छ ।
रिपब्लिकन पार्टीकी वर्तमान सिनेटर सिन्डी हाइड–स्मिथ र डेमोक्रेटिक पार्टीका उम्मेदवार स्कट कोलोमबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
पछिल्लो मतपरिणामअनुसार यी दुई उम्मेदवारबीचको मतान्तर एक हजार १०० भन्दा केही बढी छ ।
सन् २०१८ मा निर्वाचित भएकी सिन्डी हाइड–स्मिथ अमेरिकी कंग्रेसमा प्रतिनिधित्व गर्ने मिसिसिपीकी पहिलो महिला हुन् ।
उनी पुनः सिनेटमा निर्वाचित हुने प्रयासमा छिन् । उनका प्रतिस्पर्धी कोलोम भने लामो समयदेखि कानुनी क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।
मतगणना अझै जारी रहेकाले अन्तिम नतिजा आउन केही समय लाग्न सक्छ । यसैबीच, हाइड–स्मिथलाई कडा चुनौती दिइरहेका कोलोमबारे चर्चा बढेको छ ।
को हुन् स्कट कोलोम ?
स्कट कोलोम हाल जिल्ला सरकारी वकिलका रूपमा कार्यरत छन् । यसअघि उनले सरकारी वकिल र न्यायाधीशका रूपमा समेत काम गरिसकेका छन् ।
अमेरिकाका तत्कालीन राष्ट्रपति जो बाइडेनले उनलाई मिसिसिपीको उत्तरी जिल्लाका लागि संघीय न्यायाधीश नियुक्त गर्न मनोनयन गरेका थिए ।
तर, सिनेटर हाइड–स्मिथले उनको नियुक्तिको विरोध गरेपछि सिनेटबाट उक्त मनोनयन अघि बढ्न सकेन ।
मिसिसिपीको सिनेट निर्वाचन धेरै अमेरिकीको प्राथमिकतामा नपरे पनि पछिल्लो समय डेमोक्रेटिक पार्टीका प्रभावशाली नेताहरूले कोलोमको पक्षमा चुनावी प्रचार गरेका छन् ।
पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वउपराष्ट्रपति कमला ह्यारिस र जर्जियाका सिनेटर राफेल वार्नकले समेत उनको समर्थनमा प्रचारप्रसार गरेका थिए ।
चुनावी अभियानका क्रममा कोलोमले सिन्डी हाइड–स्मिथको एउटा अभिव्यक्तिलाई समेत आफ्नो पक्षमा उपयोग गरेका छन् ।
गाईको मासुको मूल्य बढेको भन्दै मिसिसिपीका नागरिकले व्यक्त गरेको असन्तुष्टिलाई सम्बोधन गर्ने क्रममा हाइड–स्मिथले उनीहरूलाई ‘अर्को प्रोटिन रोज्न’ सुझाव दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिलाई कोलोमले चुनावी मुद्दा बनाए ।
उनले हाइड–स्मिथको सुझावलाई व्यङ्ग्य गर्दै ‘अर्को सिनेटर रोज्नुस्’ भन्ने सन्देशसहित टेलिभिजन विज्ञापन बनाए । उक्त विज्ञापनले राष्ट्रिय स्तरमै चर्चा पाएको थियो ।
यदि कोलोम निर्वाचित भए भने उनी झन्डै ४० वर्षपछि मिसिसिपीबाट अमेरिकी सिनेटमा निर्वाचित हुने पहिलो डेमोक्रेटिक उम्मेदवार बन्नेछन् । साथै, पुनर्निर्माण काल ९रिकन्स्ट्रक्सन एरा०पछि मिसिसिपीबाट सिनेटमा पुग्ने पहिलो अश्वेत सांसद पनि हुनेछन् ।
कोलोम मिसिसिपीमा सातौँ पुस्तादेखि बसोबास गर्दै आएको परिवारका सदस्य हुन् । उनी दुई सन्तानका पिता पनि हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com