info@nawayug.com

राराको जंगलमा बाटो भुलेका १२ पर्यटकको नेपाली सेनाद्वारा उद्धार

मुगु । प्रसिद्ध पर्यटकीय गन्तव्य रारा ताल घुम्न आएका १२ जना आन्तरिक पर्यटकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित घना चुच्चेमारा जङ्गलमा बाटो बिराएर अलपत्र परेका पर्यटकलाई नेपाली सेनाको हनुमानध्वज गुल्मबाट खटिएको टोलीले उद्धार गरेको हो ।

हनुमानध्वज गुल्मका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार उद्धार गरिएका सबै पर्यटक जुम्लाको चन्दननाथ नगरपालिका–२, भण्डारीबाडाका बासिन्दा हुन् । रारा भ्रमणका क्रममा रमाइलो गर्दै अघि बढेका उनीहरू बाटो बिराएपछि चुच्चेमाराको घना जङ्गलमा अलपत्र परेका थिए ।

पर्यटकहरू जङ्गलमा फसेको र बाटो बिराएको खबर प्राप्त हुनासाथ हनुमानध्वज गुल्मबाट तत्काल विशेष उद्धार टोली परिचालन गरिएको थियो ।

रातको समय, घना जङ्गल र अप्ठ्यारो भौगोलिक अवस्थाका बाबजुद सेनाको टोलीले खोजी कार्यलाई तीव्रता दिएको थियो । निरन्तरको खोजीपछि राति करिब १० बजे सबै १२ जना पर्यटकलाई सकुशल फेला पारिएको गुल्मपति श्रेष्ठले जानकारी दिए ।

उद्धार गरिएका पर्यटकलाई सुरक्षित रूपमा जङ्गलबाट बाहिर निकालेर सल्लेरीस्थित होटलमा राखिएको उनले बताए ।

यस घटनाले रारा क्षेत्रमा पर्यटकको सुरक्षा, पदमार्ग व्यवस्थापन र आवश्यक सूचना प्रणालीको अवस्थामाथि प्रश्न उठाएको छ ।

स्थानीय बासिन्दाका अनुसार रारा आसपासका क्षेत्र तथा जुम्लाका विभिन्न स्थानबाट रारा पुग्ने पदमार्गमा पर्याप्त दिशासूचक सङ्केतपाटी, सूचना बोर्ड र तालिमप्राप्त प्रकृति पथप्रदर्शकको अभाव छ । जसका कारण पहिलो पटक रारा भ्रमणमा आउने पर्यटकले बाटो बिराउने समस्या बारम्बार भोग्नुपरेको उनीहरूको भनाइ छ ।

प्राकृतिक सौन्दर्यका कारण स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षण बनेको रारामा बर्सेनि हजारौँ पर्यटक पुग्ने गरेका छन् । तर, व्यवस्थित पदमार्ग, दिशासूचक बोर्ड, सूचना केन्द्र र आवश्यक पथप्रदर्शकको पर्याप्त व्यवस्था नहुँदा पर्यटकहरू जोखिममा पर्ने गरेका छन् ।

विशेषगरी घना जङ्गल र अपरिचित पदमार्गमा यात्रा गर्ने पर्यटकका लागि स्पष्ट सङ्केतपाटी तथा आवश्यक सुरक्षा व्यवस्थाको अभाव चुनौतीपूर्ण बन्दै गएको स्थानीयको भनाइ छ ।

चुच्चेमारा जङ्गलमा १२ जना पर्यटक अलपत्र परेको पछिल्लो घटनाले रारा क्षेत्रमा पर्यटकको सुरक्षित आवागमनका लागि पदमार्ग सुधार, दिशासूचक बोर्ड जडान र तालिमप्राप्त पथप्रदर्शकको व्यवस्था गर्नुपर्ने आवश्यकता थप उजागर गरेको छ ।

प्रतिक्रिया