info@nawayug.com

अन्डमान सागरमा डुङ्गा दुर्घटना, २५० जना बेपत्ता

अन्डमान सागर । अन्डमान सागरमा डुङ्गा डुब्दा करिब २५० जना बेपत्ता भएको आशंका गरिएको छ।

मलेसियातर्फ गइरहेका रोहिङ्ग्या शरणार्थी र बङ्गलादेशी नागरिक बोकेको डुङ्गा समुद्रमा पल्टिँदा सबै यात्रु बेपत्ता भएको संयुक्त राष्ट्रसंघीय निकायहरूले जनाएका छन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालय र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार उक्त डुङ्गा बङ्गलादेशको कोक्स बजार जिल्लाको टेकनाफ क्षेत्रबाट मलेसियातर्फ गइरहेको थियो।

डुङ्गा कहिले डुबेको भन्ने स्पष्ट नभए पनि बुधबारसम्म खोज तथा उद्धार कार्यको अवस्था अनिश्चित रहेको जनाइएको छ। प्रारम्भिक अनुमानअनुसार अत्यधिक भीड, तीव्र हावा र खराब समुद्री अवस्थाका कारण डुङ्गा असन्तुलित भई दुर्घटना भएको हुन सक्छ।

संयुक्त राष्ट्रसंघीय निकायहरूले यो घटनाले रोहिङ्ग्या समुदायको दीर्घकालीन विस्थापन समस्या र सुरक्षित समाधानको अभावलाई फेरि उजागर गरेको बताएका छन्। राखाइन राज्यमा जारी हिंसा र अस्थिरताका कारण उनीहरूको सुरक्षित स्वदेश फर्किने सम्भावना अझै अनिश्चित रहेको छ।

त्यस्तै, बङ्गलादेशस्थित शरणार्थी शिविरहरूमा सीमित मानवीय सहायता, शिक्षा र रोजगारीमा प्रतिबन्धित पहुँचका कारण धेरै रोहिङ्ग्याहरू जोखिमपूर्ण समुद्री यात्रा रोज्न बाध्य भइरहेको उल्लेख गरिएको छ। यसले मानव तस्करी र समुद्री दुर्घटनाको जोखिम अझ बढाएको छ।

हाल बङ्गलादेशले म्यान्माबाट विस्थापित १० लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीलाई आश्रय दिँदै आएको छ। UNHCR र IOM ले प्रभावितहरूको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग थप सहयोग र ऐक्यबद्धताको अपिल गरेका छन्।

यो दुर्घटनाले मानवीय संकट मात्र नभई क्षेत्रीय शरणार्थी समस्याको गम्भीरता र अन्तर्राष्ट्रिय उदासीनतालाई पनि उजागर गरेको छ।

प्रतिक्रिया