info@nawayug.com

रेफ्रीलाई ‘मलाई अपमान नगर, राम्ररी बोल’ भनेर मेस्सीले मैदानमै भने

काठमाण्डौं । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलका क्रममा अर्जेन्टिनी कप्तान लिओनल मेसी र पोर्चुगिज रेफ्री जोआओ पेड्रो पिन्हेरोबीच मैदानमै तनावपूर्ण संवाद भएको छ ।

खेलको पहिलो हाफमा फ्री–किकको तयारीका बेला रेफ्रीले मेसीलाई पछि हट्न निर्देशन दिँदा प्रयोग गरेको लवज र इशारा उनलाई चित्त बुझेन । मेसीले तत्कालै जवाफ फर्काउँदै सम्मानजनक व्यवहारको माग गरे ।

फ्री–किकपछि पनि दुवैबीच संक्षिप्त संवाद जारी रह्यो जुन टेलिभिजन क्यामेराले कैद गर्‍यो । यद्यपि मेसीले संयम कायम राखी हात पछाडि बाँधेरै आफ्नो असन्तुष्टि व्यक्त गरेका थिए र यस घटनामा कुनै कार्ड देखाइएन ।

उदीयमान रेफ्रीका रूपमा चिनिने ३८ वर्षीय पिन्हेरोले च्याम्पियन्स लिगलगायतका ठूला प्रतियोगिता खेलाएको अनुभवका आधारमा विश्वकप सञ्चालन टोलीमा ठाउँ पाएका हुन् ।

यो खेलमा अर्जेन्टिना ३–१ ले विजयी भएको थियो । अब अर्जेन्टिनाले फाइनलमा पुग्न दोस्रो सेमिफाइनलमा असार ३१ गते बुधवार राति पौने १ बजे इङ्ग्ल्यान्डसँग खेल्नेछ ।

यस्तै पहिलो सेमिफाइनलमा पर्सि मङ्गलवार राति पौने १ बजे फ्रान्स र स्पेनबीच प्रतिस्पर्धा हुनेछ ।

२६औँ संस्करणका‍े फिफा विश्वकपको फाइनल खेल साउन ३ गते आइतवार राति पौने १ बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ ।

प्रतिक्रिया