काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर तयारी गरिरहेको बताउनुभएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकमा सहभागीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले बाढी, पहिरो लगायतका प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरदेखि सुरक्षा निकायका सबै स्रोतसाधन परिचालन गर्ने जानकारी दिनुभयो ।
विपद् व्यवस्थापनका लागि सुरक्षा निकायहरू परिचालन गरिसकिएको उहाँको भनाइ छ । उहाँले औपचारिक निरीक्षणभन्दा पनि नागरिकको प्रत्यक्ष सुरक्षा र उद्धार कार्यलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।
उहाँले सम्भावित सङ्कटको अवस्थामा छिटो काम गर्नेगरी संयन्त्र निर्माण गरिएको पनि जानकारी दिनुभयो । विपद् व्यवस्थापनका लागि अघिल्ला सरकारले गरेका सकारात्मक कामलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अघि बढ्ने नीति लिएको उहाँको भनाइ छ ।
मनसुनका बेला पूर्वपश्चिम राजमार्ग लगायत निर्माणाधीन सडक खण्डहरूमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँकाअनुसार सडक अवरोध हटाउन आवश्यक डोजर तथा उपकरण कहाँकहाँ उपलब्ध छन् भन्ने जानकारी दिने विशेष डिजिटल प्रणाली ९एप० विकास गरिएको छ ।
उक्त प्रणालीमार्फत कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरेर सडक खुलाउने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो ।
यसले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था नहुने उहाँको भनाइ छ । गृहमन्त्री गुरुङले विगतमा प्राकृतिक विपद्ले नागरिकलाई पुर्याएको क्षतिको अनुभवका आधारमा यसपटक अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
गृहमन्त्री गुरुङले प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिएको जानकारी दिनुभयो । अपराध नियन्त्रण, सुशासन प्रवर्द्घन र सेवाको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने उहाँको भनाइ छ ।
सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र पदोन्नति गर्ने नीति अघि बढाइएको उहाँको भनाइ छ । राजनीतिक दबाब वा पहुँचका आधारमा पदोन्नति हुने प्रवृत्ति अन्त्य गर्ने उहाँको दाबी छ ।
नागरिकको सुरक्षा, विपद् प्रतिकार्य र प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखेर गृह मन्त्रालय अघि बढ्ने उहाँले बताउनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com