सिँजा । तातोपानी गाउँपालिका–१ राँकाकी ८ वर्षीया समिता कामीको रेबिज विरुद्धको खोप समयमै नपाउँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार मृत्यु भएको छ ।
बालरोग विशेषज्ञ डा. कमल थानीका अनुसार करिब दुई महिना अघि कुकुरले टोकेको उहाँलाई समयमा खोप नलगाउदा संक्रमण गम्भीर बन्दै गएको र अन्तिम अवस्थामा मात्र परिवारले अस्पताल पुर्याएका कारण उहाँको मृत्यु भएको हो ।
रेबिज इन्सेफ्लाइटिसको कारण भएको यो मृत्युले जुम्लामा रेबिज खोपको अभाव र जनचेतनाको गम्भीर समस्यालाई पुनः उजागर गरेको छ । डा.थानीका अनुसार समितालाई टोकेकै कुकुरले थप तीन चार जनालाई पनि टोकेको जानकारी प्राप्त भएको बताउनुभयो ।
ती सबैले खोप लगाए वा नलगाएको तत्काल पहिचान गरी आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनु जरुरी रहेको उहाँको भनाइ छ । रेबिज लागे पछि उपचार अत्यन्त कठिन हुन्छ ।
तर कुकुर वा स्यालले टोके लगत्तै लगाइने खोपले ज्यान बचाउन सकिने उहाँले बताउनुभयो । यो घटनालाई केवल एउटा दुःखद मृत्यु मात्र नभई सार्वजनिक स्वास्थ्य सँग जोडिएको गम्भीर राष्ट्रिय विषयका रूपमा लिनुपर्ने उहाँले बताउनुभयो ।
रेबिज शतप्रतिशत ज्यान लिन सक्ने रोग भएकाले समयमै खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने डाः थानीको भनाइ छ । यता, जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले समयमै टेन्डर प्रक्रिया पुरा हुन नसक्नु नै खोप अभावको मुख्य कारण भएको बताउनुभयो ।
नेपाल सरकारले विगतमा निःशुल्क उपलब्ध गराउँदै आएको रेबिज विरुद्धको खोप हाल कर्णालीका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध नभएको उहाँको भनाइ छ ।
जुम्लाको कालिकाखेतु स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मात्र बीस डोज सीमित मात्रामा मौज्दात रहेको छ । खोपको अभाव, जनचेतनाको कमी र स्वास्थ्य सेवामा ढिलाइका कारण अझै पनि यस्ता दुःखद घटनाहरू दोहोरिने जोखिम उत्तिकै रहेको विशेषज्ञहरूले बताएका छन् ।
शर्माले कुकुर, स्याल वा अन्य जनावरले टोकेपछि नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिज विरुद्धको खोप लगाउन सबैलाई आग्रह गर्नुभएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com