info@nawayug.com

बागमतीमा राजनीतिक मोड: एमाले सरकारबाट बाहिरिँदै, नयाँ गठबन्धन सुरु

हेटौंडा । बागमती प्रदेशमा करिब दुई वर्षदेखि कायम कांग्रेस–एमाले सत्ता समीकरण अन्त्य हुने भएको छ। नेकपा एमालेले आज सरकारबाट आफ्ना सबै मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै प्रदेशको सत्ता समीकरण फेरि एकपटक परिवर्तनको चरणमा पुगेको हो।

एमालेबाट सरकारमा सहभागी ६ जना मन्त्रीले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर सामूहिक रूपमा राजीनामा बुझाउने तयारी गरेका छन्। एमालेबाट सरकारको नेतृत्व गरिरहेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलका अनुसार पार्टीको स्पष्ट निर्देशनपछि सबै मन्त्री हेटौंडा पुगिसकेका छन् र आजै राजीनामा बुझाइनेछ।

एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार प्रदेश सरकारहरूको नयाँ सत्ता साझेदारीबारे भएको छलफलपछि बागमतीसहित विभिन्न प्रदेशमा नयाँ समीकरण बनाउने सहमति भएको बताइएको छ। सोही सहमतिअनुसार एमालेले कांग्रेस नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको हो।

एमाले–नेकपाको नयाँ समीकरण, साना दल पनि सरकारमा ल्याउने तयारी

एमाले सरकारबाट बाहिरिएसँगै बागमतीमा एमाले र नेकपाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गृहकार्य सुरु भएको छ। नयाँ समीकरणमा हाम्रो नेपाली पार्टी वा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई समेत सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको स्रोतहरूले बताएका छन्।

नयाँ सरकारमा मुख्यमन्त्री एमाले वा नेकपामध्ये एक दलबाट हुने सम्भावना रहेको छ। त्यसका लागि प्रदेशसभामा आवश्यक बहुमत जुटाउने कसरत तीव्र पारिएको छ।

तीन–तीन मन्त्री राखिएको सरकार अन्ततः संकटमा

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन १ गतेदेखि लागू हुने गरी प्रदेशका १४ मन्त्रालयलाई घटाएर ८ मा सीमित गरेका थिए। तर मन्त्रालय घटे पनि मन्त्रीको संख्या तत्काल नघटाइएकाले एउटै मन्त्रालयमा तीन–तीन जनासम्म मन्त्री राखिएको भन्दै सरकारको व्यापक आलोचना भएको थियो।

उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय र स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा तीन–तीन मन्त्री तथा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालयमा दुई मन्त्रीलाई जिम्मेवारी बाँडिएको थियो। मन्त्रालय खारेज भए पनि मन्त्री पद भने यथावत् राखिएको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठेको थियो।

यी हुन् राजीनामा दिने एमालेका मन्त्री

सरकारबाट बाहिरिने एमालेका मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात क्षेत्र हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण क्षेत्र हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।

अब विश्वासको मतको परीक्षा

बागमती प्रदेशमा २०८१ साउनदेखि कांग्रेस–एमालेको संयुक्त सरकार सञ्चालनमा थियो। बहादुरसिंह लामालाई हटाएर २०८२ साउन २० गते इन्द्रबहादुर बानियाँ मुख्यमन्त्री बनेका थिए। तर मुख्यमन्त्री बनेको एक वर्ष नपुग्दै उनको सरकार संकटमा परेको छ।

एमालेले समर्थन फिर्ता लिएपछि नेपालको संविधानअनुसार मुख्यमन्त्री बानियाँले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ। यदि विश्वासको मत प्राप्त गर्न नसके नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अघि बढ्नेछ।

बागमती प्रदेशमा फेरि एकपटक सत्ता समीकरण बदलिने निश्चितजस्तै देखिएको छ। अब एमाले–नेकपा गठबन्धनले सरकार गठन गर्न आवश्यक बहुमत जुटाउन सक्छ वा कांग्रेसले नयाँ साझेदार खोज्छ भन्ने विषयले प्रदेशको आगामी राजनीतिक दिशा तय गर्नेछ।

प्रतिक्रिया