नयाँदिल्ली। नयाँदिल्लीमा आयोजित ‘नेपाल-भारत व्यापार मञ्च’ भव्य रूपमा सम्पन्न भएको छ। दुवै देशका उद्योगी, व्यवसायी तथा उच्च अधिकारीहरूको उपस्थिति रहेको यस कार्यक्रममा नेपाल र भारतबीच व्यापार, लगानी तथा आर्थिक सहकार्यलाई थप विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त मञ्चमा भारतका वाणिज्य तथा उद्योग एवं इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि राज्यमन्त्री जितिन प्रसाद, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ, भारतीय उद्योग महासंघका उपाध्यक्ष डा. विक्रमजित सिंह सहनी र लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्ग्की युक्याव शेर्पालगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपाल सरकार सुशासन र आर्थिक सुधारका एजेन्डा तजचयगनज दिगो विकास हासिल गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
ऊर्जा, पर्यटन, कृषि, उत्पादन र डिजिटल अर्थतन्त्रका क्षेत्रमा नेपालमा लगानीका प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले भारतको यातायात र सूचना प्रविधि क्षेत्रको अनुभवबाट सिकेर सहकार्य गर्न नेपाल सदैव तत्पर रहेको स्पष्ट पारे। साथै, उनले भारतीय लगानीकर्ताहरूलाई नेपाली निजी क्षेत्रसँग हातेमालो गर्दै उत्पादनमूलक क्षेत्र र रोजगारी सिर्जना गर्ने उद्योगहरूमा लगानी बढाउन विशेष आह्वान गरेका छन्।
सोही अवसरमा बोल्दै भारतीय राज्यमन्त्री जितिन प्रसादले पर्यटन, ऊर्जा, व्यापार र लगानीलगायतका पारस्परिक लाभका क्षेत्रमा साझेदारी थप प्रगाढ बनाउँदै द्विपक्षीय आर्थिक सम्बन्धलाई उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।
कार्यक्रममा दुवै देशका व्यावसायिक प्रतिनिधिहरूले आआफ्ना धारणा राख्नुका साथै लगानीका नयाँ सम्भावनाबारे विचारविमर्श गरेका थिए। दुई देशबीच विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य र आर्थिक साझेदारीलाई मूर्त रूप दिने उद्देश्यले केही समझदारीपत्रहरूमा समेत हस्ताक्षर भएको आयोजकले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com