नारायणगढ । चितवन राष्ट्रिय निकुञ्जमा नेपाली सेनाको गोली लागेर एक गैँडाको मृत्यु भएको छ। निकुञ्ज गस्तीका क्रममा आत्मरक्षाका लागि चलाइएको गोली लाग्दा गैँडाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी अविनाश मगरले जानकारी दिनुभयो।
निकुञ्जको कोर क्षेत्रमा पर्ने नफ्री भन्ने स्थानमा सेनाको गस्ती भइरहेका बेला बच्चासहितको पोथी गैँडाले आक्रमण गर्न थालेपछि आत्मरक्षाका लागि सेनाका जवानहरूले गोली चलाउनुपरेको उहाँको भनाइ छ।
निकुञ्जद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निकुञ्जको कोर क्षेत्रमा परिचालित टोली गस्ती गर्दै जाँदा आकस्मिक रूपमा अर्धवयस्क बच्चासहितको पोथी गैँडासँग जम्काभेट भएको थियो। गस्तीमा खटिएको टोलीले सुरक्षात्मक उपाय अवलम्बन गर्दा समेत अचानक सो गैँडाले एक जना सिपाहीलाई आक्रमण गरेको थियो।
आत्मरक्षाको क्रममा गस्ती टोलीका कमाण्डरले गैँडा धपाउने प्रयासस्वरूप १० राउण्ड हवाई फायर गर्दा पनि गैँडा नभागेपछि कमाण्डरको आदेशमा अर्का एक सिपाहीले थप चार राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि पनि गैँडाले आक्रमण गर्न नछाडेपछि घाइते सिपाहीको बचाउका लागि थप दुई राउण्ड गोली चलाउँदा गैँडा मरेको हो।”
“एउटा गोली गैँडाको करङ हुँदै फोक्सोमा प्वाल परेकाले मृत्यु भएको देखिन्छ,” मगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गैँडाको निकुञ्जका प्राविधिकहरूले पोस्टमार्टम गरी पुरेका छन्। गैँडाको खाग र खुर सुरक्षित राखिएको निकुञ्जले जनाएको छ।
गैँडाको आक्रमणबाट घाइते भएका सेनाका सिपाहीलाई थप उपचारका लागि काठमाडौंस्थित सैनिक अस्पताल लगिएको छ। घाइते सिपाही श्री नयाँ गोरख गणमा कार्यरत विशाल घर्ती रहेका छन्। रोल्पाका घर्तीको काँध, ढाड, नाक र मुखमा गम्भीर चोट लागेको छ। उहाँको हाल सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको छ।
यसअघि गत वर्ष माघ २३ गते पूर्वी चितवनको सौराहा नजिकै मकुना नामक जङ्गली हात्तीले सेनामाथि आक्रमण गर्न खोज्दा गोली लागेर मृत्यु भएको थियो।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com