काठमाण्डौं । नेकपा (एमाले)ले आउने पालिका चुनावलाई लक्षित गरी केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरेको छ । चुनाव लक्षित ‘पार्टी जागरण अभियान’का लागि पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको हो । जेठ ११ गते सम्पन्न सचिवालय बैठकले कार्यविभाजनको प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोखरेललाई अधिकार दिएको थियो ।
अध्यक्ष ओलीले हिजो अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै यो अभियान घोषणा गर्नुका साथै पार्टीको ११औं राष्ट्रिय महाधिवेशनपछिको पहिलो कार्यविभाजन पठाउनुभएको हो । कार्यविभाजनमा जिल्ला इञ्चार्ज र जनसङ्गठनका इञ्चार्ज पनि तोकिएको छ ।
अध्यक्ष ओलीले समग्र कामको नेतृत्व र महासचिव पोखरेलले सङ्गठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी पाएका छन् । उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजन र ९ मध्ये ६ जना सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
अन्तरपार्टी निर्देशनमा ओलीले पार्टी पुनर्गठन तथा पुनर्जागरणको कार्ययोजना अघि बढाइने बताउनुभएको छ । चुनावमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारण पार्टीको एक हिस्सा निराश र पलायन हुन खोजेको उल्लेख गर्दै पार्टीपंक्तिमा आशा र उत्साह जगाउन आवश्यक रहेको बताउनुभएको छ । आउँदो केन्द्रीय कमिटी बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने उहाँले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com