हेटौँडा। पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथको मुख्य संगमस्थल हेटौँडा हुँदै मासिक हजारौँ पशु विभिन्न जिल्लातर्फ ढुवानी भइरहेका छन्। तर ती पशुको यात्रा भने अत्यन्त पीडादायी र अमानवीय बन्ने गरेको पशु अधिकारकर्मीहरूले बताएका छन्।
राजमार्गमा सञ्चालन हुने ट्रक तथा अन्य सवारीसाधनमा गाइ, भैसी, राँगा, खसी, बोका, बाख्रा, गाईगोरु लगायतका पशुलाई क्षमताभन्दा बढी कोचेर ढुवानी गर्ने गरिएको छ। कतिपय पशुको घाँटी कसेर बाँधिएको, खुट्टा मोडिएको, शरीर र मुखमा चोट लागेको तथा घण्टौँसम्म पानी र आहारबिनै यात्रा गराइएको दृश्य सामान्य बन्दै गएको छ।
तराइ लगायत विभिन्न जिल्लाबाट सवारीका साधनमा क्षमता भन्दा धेरै पशु ढुवानी गर्नेक्रम अझै पनि नरोकिएको र त्यस्तालाई कार्बाही गर्ने गरिएको पशुसेवा कार्यालय मकवानपुरका प्रमुख डाक्टर रामप्रकाश प्रधानले बताए । पहिले यस्ता घटना धेरै हुने गरेको भएपनि अहिले भने न्यूनीकरण हुँदे गएको उनको भनाइ छ । सवारीका साधनमा क्षमता भन्दा धेरै पशु ढुवानी गरेर आएमा प्रहरीले पनि चालक गाडी सहित नियन्त्रणमा लिने र पशुसेवा कार्यालयलाई बुझाउने गरेको छ । त्यसपछी पशुसेवा कार्यालयले क्वारेन्टाइन कार्यालय बिरगन्जमा पठाउने गरिएको उनले बताए ।
वीरगञ्ज, जनकपुर, विराटनगर, क्षेत्रबाट काठमाडौँ तथा अन्य बजार केन्द्रतर्फ लैजाने क्रममा अधिकांश पशु हेटौँडा हुँदै गुज्रने गर्छन्। विशेष गरी पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ प्रयोग गरेर राजधानीतर्फ पठाइने पशुको ढुवानीमा मापदण्डको खुलेआम उल्लङ्घन हुने गरेको अधिकारकर्मीहरूको भनाइ छ।
सरकारले पशु ढुवानीसम्बन्धी मापदण्ड, २०६४ तथा पशु कल्याण निर्देशिका, २०७३ जारी गरेको छ। ती व्यवस्थाअनुसार पशुलाई आठ घण्टाभन्दा बढी पैदल हिँडाउन पाइँदैन। सवारीसाधनमार्फत ढुवानी गर्दा ४८ घण्टाभित्र गन्तव्यमा पुर्याउनुपर्ने र प्रत्येक आठ घण्टामा दाना–पानीको व्यवस्था गर्नुपर्ने प्रावधान छ। तर व्यवहारमा ती नियम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो बढ्दो छ।
पशुपन्छीको हेरचाहमा लापरबाही गरे एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरेको छ।
त्यसैगरी दफा ११७ अनुसार पशुपन्छी छाडा छोडे तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुन सक्छ। दफा २१० ले पशुपन्छीमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको व्यवस्था गरेको छ। सार्वजनिक स्थलमा पशुपन्छी मारेमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना हुने कानुनी प्रावधान छ भने गाईगोरु मारेमा तीन वर्षसम्म कैद सजाय हुन सक्ने व्यवस्था रहेको छ।
यद्यपि कानुनी व्यवस्था बलियो भए पनि कार्यान्वयन पक्ष कमजोर रहेको पशु चिकित्सकहरूको भनाइ छ। “कानुन मात्रै भएर पुग्दैन, त्यसलाई कार्यान्वयन गर्ने इच्छाशक्ति र प्रभावकारी अनुगमन पनि आवश्यक छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com