काठमाण्डौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको शान्ति वार्ता ठप्प बनेपछि कडा चेतावनी दिनुभएको छ । उहाँले समय सकिँदै गरेको भन्दै इरानलाई चाँडै सहमतिमा पुग्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत ट्रम्पले इरानले छिटो निर्णय नगरे इरानमा केही पनि बाँकी नरहने चेतावनी दिनुभएको हो ।
ट्रम्पको यस भनाइलाई इरानलाई तत्काल सम्झौता गर्न दबाब दिएको संकेतका रूपमा हेरिएको बीबीसीले उल्लेख गरेको छ । यसबीच ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने कार्यक्रम रहेको समेत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार अमेरिकाले तेहरानको पछिल्लो प्रस्तावमा कुनै ठोस निर्णय नदिएको आरोप छ । इरानको अर्ध–सरकारी समाचार संस्था मेहरले यस्तो अवस्थाले वार्तालाई “गतिरोध” तर्फ धकेल्ने जनाएको छ । इरानले युद्ध पूर्ण रूपमा अन्त्य गर्न, अमेरिकी नाकाबन्दी हटाउन तथा भविष्यमा आक्रमण नगर्ने ग्यारेन्टी माग गरेको छ ।
साथै हर्मुज जलमार्गमाथिको आफ्नो सार्वभौमिक अधिकार कायम रहने विषय पनि प्रस्तावमा समेटिएको छ । अमेरिकाले इरानलाई केवल एउटा आणविक केन्द्र सञ्चालनमा राख्न र उच्च स्तरको युरेनियम भण्डार अमेरिकालाई हस्तान्तरण गर्न माग गर्दै आएको छ ।
यसअघि ट्रम्पले इरानको आणविक कार्यक्रम २० वर्षका लागि स्थगित गरिए स्वीकार गर्न सकिने संकेत दिनुभएको थियो । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण सुरु गरेका थिए । अप्रिलमा युद्धविराम घोषणा भए पनि बीच–बीचमा तनाव र छिटपुट आक्रमण भइरहेका छन् ।
इरानले अझै पनि विश्व व्यापारका लागि अत्यन्त महत्वपूर्ण मानिने हर्मुज जलमार्गमा नियन्त्रण कायम राखेको छ । यस मार्गबाट विश्वको झण्डै २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने भएकाले तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com