काठमाडौं । नेपालले आठ हजार मिटरभन्दा अग्ला थप ६ हिमाललाई छुट्टाछुट्टै शिखरका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल अघि बढाएको छ। नेपालको प्रस्ताव स्वीकृत भए विश्वमा आठ हजार मिटरभन्दा अग्ला मान्यता प्राप्त हिमालको संख्या १४ बाट बढेर २० पुग्नेछ।
नेपाल पर्वतारोहण संघ (एनएमए) मार्फत अघि बढाइएको यस पहलको उद्देश्य नेपालको हिमाली पहिचान विस्तार गर्नुका साथै पर्वतारोहण पर्यटनलाई थप प्रवर्द्धन गर्नु हो। विश्व पर्वतारोहण तथा आरोहण महासंघको सन् २०२६ को साधारणसभामा नेपालले यससम्बन्धी प्रस्ताव अघि सारेको हो।
नेपालले अन्तर्राष्ट्रिय मान्यताका लागि प्रस्ताव गरेका हिमालमा यालुङ काङ, कञ्चनजङ्घा दक्षिण, कञ्चनजङ्घा मध्य, ल्होत्से मध्य, ल्होत्से शार र यालुङ काङ पश्चिम रहेका छन्।
यी हिमालको उचाइ क्रमशः ८ हजार ५०५ मिटर, ८ हजार ४७६ मिटर, ८ हजार ४७३ मिटर, ८ हजार ४१० मिटर, ८ हजार ४०० मिटर र ८ हजार ७७ मिटर रहेको छ।
अन्तर्राष्ट्रिय मान्यता पाए के हुन्छ फाइदारु
थप ६ हिमालले अन्तर्राष्ट्रिय मान्यता पाए नेपालको पर्वतारोहण क्षेत्रको पहिचान र प्रतिष्ठा थप विस्तार हुने अपेक्षा गरिएको छ। नयाँ आरोहण गन्तव्यको प्रवर्द्धनसँगै विदेशी पर्वतारोहीको आकर्षण बढ्ने र हिमाली पर्यटनबाट प्राप्त हुने आर्थिक लाभ विस्तार हुने विश्वास गरिएको छ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार नयाँ हिमालको पहिचान स्थापित हुँदा पर्वतारोहण गतिविधि विस्तार हुनुका साथै होटल, यातायात, पर्वतारोहण गाइड, भरिया र अन्य पर्यटन सेवामा रोजगारीका अवसर सिर्जना हुनेछन्।
उनले नयाँ हिमालको अन्तर्राष्ट्रिय पहिचानले कञ्चनजङ्घालगायतका हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने बताए। सगरमाथामा केन्द्रित पर्वतारोहण गतिविधिलाई अन्य हिमाली क्षेत्रमा विस्तार गर्न पनि यसले अवसर प्रदान गर्ने उनको भनाइ छ।
पर्वतारोहण रोयल्टी र स्थानीय अर्थतन्त्रमा लाभ
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार हिमालको उचाइ यकिन गर्ने, नामकरण गर्ने तथा स्थानीय र परम्परागत पहिचानलाई समेट्ने विषय अन्तर्राष्ट्रिय मान्यता प्रक्रियाका महत्वपूर्ण पक्ष हुन्।
मान्यता प्राप्त भएपछि हिमालको आरोहण अनुमति र व्यवस्थापनलाई थप व्यवस्थित बनाउने सरकारको तयारी रहेको उनले बताए।
नेपालमा हिमाल आरोहणबाट संकलन हुने कुल रोयल्टीमा सगरमाथाको योगदान मात्रै करिब ६० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। थप हिमालको प्रवर्द्धनले पर्वतारोहणबाट हुने आम्दानीका स्रोत विस्तार गर्न सक्ने अपेक्षा गरिएको छ।
तर, हिमाली गन्तव्यसम्म सहज यातायात पहुँच नहुनु, पूर्वाधारको कमी र आरोहण सुरक्षा व्यवस्थापन चुनौतीका रूपमा रहेका छन्। यी पक्षमा सुधार गर्न सके नयाँ हिमालको अन्तर्राष्ट्रिय पहिचानबाट प्राप्त हुने लाभ स्थानीय समुदायसम्म पुर्याउन सकिने सरोकारवालाहरूको विश्वास छ।
नेपालको प्रस्ताव स्वीकृत भए विश्व पर्वतारोहणको नक्सामा नेपालको उपस्थिति थप बलियो हुने र हिमाली पर्यटनलाई नयाँ गन्तव्यसम्म विस्तार गर्ने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com