info@nawayug.com

रास्वपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता

काठमाण्डौं । भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको छ ।

लामिछानेले आज दिउँसो भारतीय प्रधानमन्त्री कार्यालयमा मोदीसँग भेटवार्ता गर्नुभएको हो । भेटबारे भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जानकारी दिनुभएको छ । भेटमा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको छ ।

भेटबारे जानकारी दिँदै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछानेसँग भेट गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउनुभएको छ । उहाँले साझा समृद्धि र उज्ज्वल भविष्यका लागि मिलेर नजिकबाट काम गर्ने लामिछानेको इच्छालाई स्वागत र पूर्णरूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ ।

‘छिमेकी पहिला’ नीतिअन्तर्गत नेपाल भारतको प्राथमिक साझेदार भएको मोदीले बताउनुभएको छ । दुई देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च तहमा पुर्‍याउन नयाँ सरकारसँग सहकार्य गर्न आफूहरू उत्सुक रहेको पनि उहाँको भनाइ छ ।

सभापति लामिछाने भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा पाँच दिने भारत भ्रमणका लागि अस्ति सोमवार भारत जानुभएको हो ।

हिजो लामिछानेले भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुभएको थियो । हिजै उहाँले भाजपा मुख्यालयमा अध्यक्ष नवीनसहित शीर्ष नेताहरूसँग भेट गर्नुभएको थियो ।

भ्रमण टोलीमा लामिछानेसँगै उहाँकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र स्वकीय सचिव प्रदीप आचार्य हुनुहुन्छ ।


प्रतिक्रिया