काठमाडौं । नेपाल प्रिमियर लिगको तेस्रो संस्करण सकिँदा सुदूरपश्चिम रोयल्सले उपाधि उचाल्यो र लुम्बिनी लायन्स उपविजेता बन्यो । तर सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कार भने फाइनलमै नपुगेको टिम चितवन राइनोजका बलर रिजन ढकालले जितेका छन् ।
चितवनलाई उपाधिसम्म पुर्याउन नसके पनि रिजनले प्रतियोगिताभरि उत्कृष्ट बलिङ गर्दै आफ्नो छाप छोड्न सफल भए । र, यसबापत उनलाई दुवै हातमा पुरस्कार मिलेको छ । एउटा हातमा कार र अर्कोमा मोटरसाइकल । रिजनले एउटा होइन, तीनवटा ठूला व्यक्तिगत पुरस्कार जिते ।
सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै उनले ओमोडा तथा जेइकोको कार प्राप्त गरेका रिजनले प्रतियोगितामा सर्वाधिक विकेट लिएर गोल्डेन क्यापसहित दुई लाख रुपैयाँ नगद पनि पाए । सर्वोत्कृष्ट बलरको पुरस्कार स्वरूप पल्सर मोटरसाइकल पनि उनकै पोल्टामा पर्यो ।
यद्यपि, प्लेयर अफ द सिरिजको पुरस्कार भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेका थिए । सर्वोत्कृष्ट खेलाडी एक जना हुनु, तर कार अर्को खेलाडीलाई दिइनुमा अलिकति विरोधाभास अवश्य देखिएको छ । तर ऐरीले एनपीएलको पहिलो संस्करणमा नै कार जितेको हुँदा उनलाई नदोहोर्याइ अर्को खेलाडीलाई चयन गरिएको हो । सकेसम्म धेरै खेलाडीले कार पाउन् भन्ने ध्येय एनपीएल आयोजकले राखेको छ ।
८ खेलमा १७ विकेट, विदेशी बलरलाई पनि पछाडि पारे
एनपीएलको तेस्रो संस्करणमा रिजनको बलिङ तथ्यांक निकै प्रभावशाली छ । उनले आठ खेलमा १७ विकेट लिए । प्रतियोगितामा सहभागी नेपाली र विदेशी सबै बलरलाई पछि पार्दै उनी सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् ।
रिजनले २७ ओभर बलिङ गर्दा ६.२२ को इकोनोमीमा रन खर्चिए । उनको बलिङ औसत ९.८८ रह्यो । दोस्रो स्थानमा रहेका सुदूरपश्चिम रोयल्सका विदेशी बलर स्कट कुगेलाइनले १५ विकेट लिए । रिजनले उनलाई दुई विकेटले पछि पारे ।
प्रतियोगिताको एलिमिनेटरमा काठमाडौं गोर्खाजविरुद्ध उनले १६ रन खर्चेर चार विकेट लिए । उनको यही प्रदर्शनले चितवनलाई क्वालिफायर–२ सम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्यो ।
यसअघि पोखरा एभेन्जर्सविरुद्ध पनि उनले २४ रन खर्चेर चार विकेट लिएका थिए । विराटनगर किंग्सविरुद्ध तीन र काठमाडौं गोर्खाजविरुद्ध दुई विकेट लिएका रिजनले कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सविरुद्ध समान एक विकेट लिए ।
प्रतियोगितामा सहभागी विदेशी खेलाडी र नेपालकै अनुभवी बलरहरूलाई पछि पार्दै रिजनको यो सफलता गौरवपूर्ण हो ।
रिजनको क्रिकेट यात्रा
रिजनलाई यो सफलता एकाएक प्राप्त भएको अवश्य होइन । उनको क्रिकेट यात्रा मकवानपुरको हेटौँडाबाट सुरु भएको हो ।
घरमै टेनिस र रबर बलले खेल्दै हुर्किएका रिजनको क्रिकेटप्रतिको मोह परिवारले पनि बिस्तारै बुझ्दै गयो । कक्षा १० मा पढ्दै गर्दा उनका बुबा राजु ढकालले रिजनलाई मकवानपुर जिल्ला क्रिकेट संघको प्रशिक्षणमा हालिदिए ।
रिजनको क्रिकेट यात्रामा एउटा महत्त्वपूर्ण मोड सन् २०१४ मा आयो । मलेसियामा हुने यू–१६ प्रतियोगिताका लागि नेपाली टोली छनोट हुँदै थियो । त्यसका लागि उनी काठमाडौं आएर छनोट प्रक्रियामा सहभागी भए । तर, प्रारम्भिक १४ सदस्यीय टोलीमा उनको नाम परेन ।
राष्ट्रिय स्तरको प्रतियोगिता खेल्ने सपना बोकेर आएका रिजनका लागि यो निराशाजनक क्षण थियो । तर, उनले हरेस खाएनन् । निरन्तर अभ्यास र मेहनत गरे । अन्ततः मलेसिया जाने अन्तिम टोलीमा स्थान बनाउन सफल भए ।
मलेसियामा भएको एसीसी यू–१६ प्रिमियर नेपाललाई उपाधि दिलाउन उनले महत्त्वपूर्ण योगदान गरे । सेमिफाइनलमा दुई र फाइनलमा एक विकेट लिएका रिजनका लागि त्यो अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो क्षमता देखाउने पहिलो ठूलो अवसर थियो ।
त्यसपछि उमेर समूह हुँदै घरेलु क्रिकेटमा उनको यात्रा अघि बढ्यो । सन् २०१९ मा सिंगापुरमा भएको प्रतियोगिताका लागि पनि उनी नेपाली टोलीमा परे ।
तर, क्रिकेटको यात्रा सधैँ सहज रहेन । सन् २०२० तिर ढाडको समस्याले रिजनलाई मैदानबाट टाढा राख्यो । क्रिकेट करियरले गति लिनुपर्ने समयमा चोटका कारण उनी समस्यामा परे । तीव्र गतिका बलरका लागि शारीरिक फिटनेस र निरन्तर अभ्यास कति महत्त्वपूर्ण हुन्छ भन्ने बुझ्न कठिन छैन । यस्तो अवस्थामा चोट लाग्नु उनको करियरकै चुनौतीपूर्ण समय बन्यो ।
तर, उनले पुनरागमनको प्रयास जारी राखे । चोटबाट निको हुँदै घरेलु क्रिकेटमा फर्किए ।
प्रधानमन्त्री कपमा बागमती प्रदेशका लागि गरेको प्रदर्शनले उनको सम्भावनालाई फेरि उजागर गर्यो । त्यसैको परिणामस्वरूप सन् २०२१ मा उनी पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा समावेश भए । सन् २०२४ मा क्यानडाविरुद्धको एकदिवसीय सिरिजबाट राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर पाए ।
फ्रेन्चाइज क्रिकेटमा रिजनको पहिचान बनाउन एनपीएलको भूमिका महत्त्वपूर्ण रह्यो । पहिलो संस्करणअघि भएको खेलाडी लिलामीमा चितवन राइनोजले उनलाई १० लाख रुपैयाँमा अनुबन्ध गरेको थियो । त्यसयता उनी लगातार चितवनकै टोलीमा आबद्ध छन् ।
पहिलो संस्करणमा पनि उनले आफ्नो बलिङ क्षमताको परिचय दिएका थिए । दोस्रो संस्करणमा भने चोटका कारण अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन् ।
तेस्रो संस्करण उनका लागि पुनरागमन मात्रै थिएन, आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पनि थियो । उनले प्रतियोगिताभरि निरन्तर विकेट लिए । नयाँ बलमा स्विङ गराउनेदेखि मध्य ओभरमा विपक्षी ब्याटरलाई दबाबमा राख्नेसम्म उनको प्रदर्शन प्रभावशाली रह्यो ।
राष्ट्रिय टोलीमा पुनरागमनको आशा
एनपीएलको प्रदर्शनले रिजनको क्षमता र सम्भावना फेरि एकपटक उजागर गरेको छ । तर, उनको अगाडिको चुनौती अझ ठूलो छ । त्यो चुनौति हो- फ्रेन्चाइज क्रिकेटमा देखाएको लयलाई राष्ट्रिय टोलीमा पनि निरन्तरता दिनु ।
नेपालको तीव्र बलिङमा बायाँहाते स्विङ बलरको भूमिका महत्त्वपूर्ण हुन सक्छ । रिजनले आफ्नो बलिङलाई अझ धारिलो बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा पनि प्रभाव जमाउन सके नेपाली टोलीले एउटा भरपर्दो विकल्प पाउनेछ ।
बायाँहाते मध्यम तीव्र गतिका बलर रिजनले नेपालका लागि अहिलेसम्म चार एकदिवसीय र आठ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । राष्ट्रिय टीमबाट उनको प्रदर्शन त्यति सन्तोषजनक हुन सकेको छैन, जसले गर्दा उनले आफ्नो स्थान गुमाए । ४ एकदिवसीयमा उनले ५१ को औसत र ६.३७ को इकोनोमीमा ३ विकेट लिएका छन् । ८ टी-२० मा ३५ को औसत र ८.०७ को औसतमा ८ विकेट हात पेका छन् । प्रिमियर फास्ट बलरका लागि यो आँकडा कमजोर हो ।
रिजन ढकालले नेपाली राष्ट्रिय टोलीबाट पछिल्लोपटक २०८२ असार ५ गते स्कटल्यान्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका थिए । त्यो खेल स्कटल्यान्डको ग्लास्गोस्थित टिटवुड मैदानमा भएको थियो । उनले उक्त खेलमा ५ रन बनाएका थिए र बलिङमा विकेट लिन सकेनन् । त्यसपछि करिब १७ महिनादेखि उनी राष्ट्रिय टोलीमा गयल छन् ।
एनपीएलको यो प्रदर्शनले रिजनलाई फेरि राष्ट्रिय टिमको जर्सीमा देख्न पाइने आशा बढेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com