काठमाडौँ । प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिइएका सुजन तामाङको नाममा अहिलेसम्म ८ वटा मुद्दा दर्ता भएर अनुसन्धान समेत भएको भेटिएको छ । प्रहरीले बिहीबार साँझ २८ वर्षीय सुजनलाई काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ स्थित गाम्चाबाट पक्राउ गरेको हो ।
डलर देखाएर ठगी र लुटपाट आतङ्क मच्चाउँदै आएका तामाङले आपराधिक काम गर्न समूह नै सञ्चालन गरेको भेटिएको काठमाडौँका एसएसपी दिलिप घिमिरेले जानकारी दिए । उनले भने, ‘समूहको नेतृत्व सुजनले गरेको देखिन्छ ।’
उनी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का स्थानीय हुन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ मा बस्दै आएका सुजन विरुद्ध स्वयम्भु, महाराजगञ्ज, सातदोबाटो र जिल्ला प्रहरी परिसर भक्तपुरबाट पनि मुद्दा चलेको भेटिएको छ ।
असोज २३ मा गोकर्णेश्वर नगरपालिका–१२ स्थित लसुनटारबाट दुई जनाको साथबाट सुजनको समूहले १६ लाख रुपैयाँ लुटेको थियो । घटनापछि लुटेरा जंगलतर्फ भागेको सूचना आएपछि उनीहरूबारे अनुसन्धान गरेर पहिचान गरिएको एसएसपी घिमिरेले बताए । उनले भने, ‘अनुसन्धान गर्दै जाँदा सुजनको समूहको संलग्नता खुलेपछि हामीले नियन्त्रणमा लियौँ ।’
पक्राउ गर्न खोज्दा सुजनले चक्कु प्रहार गरेर एक जना प्रहरी जवानलाई घाइते बनाएपछि गोली प्रहार गर्नुपरेको एसएसपी घिमिरेले जानकारी दिए । उनले भने, ‘प्रहरीमाथि आक्रमण गरेपछि एक राउण्ड हवाई फायर र एकराउण्ड घुँडामुनी गोली प्रहार गरिएको हो ।’
आरोपीको समूहले विभिन्न बहाना बनाएर मानिसहरूलाई फोन गर्थे र आफूसँग डलर रहेको भन्दै सस्तोमा साटिदिने आश्वासन दिने गरेका थिए । उनीहरुले गेष्ट हाउस सञ्चालक, रेस्टुरेन्ट सञ्चालक, सुन पसले र हार्डवेयर सञ्चालकलाई फोन गरेर डलर साट्ने भन्दै ठग्ने योजना बनाउने गरेका थिए ।
व्यवसायीहरू लोभमा परेर नेपाली रुपैयाँ दिएर डलर लिन तयार भएपछि आरोपीहरूले एकान्त ठाउँमा बोलाएर डलर भन्दै कागजको बिटो दिएर लुटेर भाग्ने गरेका थिए । एसएसपी घिमिरे भन्छन्, ‘बन्डलको अगाडी र पछाडि डलर राखेर बिचमा कागजको पाना अथवा २० दरका नेपाली नोट राखेर झुक्याउने गरेको देखिन्छ ।’
विगत २० वर्षदेखि डलरको नाममा हुने ठगीधन्दा नरोकिएको उल्लेख गर्दै एसएसपी घिमिरेले त्यस्तो लोभमा नपर्न आग्रह गरेका छन् । उनले भने, ‘गैरकानुनी तरिकाले डलर साट्न खोज्नु पनि गैरकानुनी काम हो ।’
सुजनको समूहले बुढानीलकण्ठ, साँखु र स्वयम्भुलाई कार्यक्षेत्र बनाएर लुटपाट गर्दै आएका थिए । आरोपीको साथबाट प्रहरीले केही अमेरिकी डलर र बन्डल बनाउन प्रयोग गरिने कागज पनि बरामद गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com