info@nawayug.com

म्याराडोनाको ‘ह्यान्ड अफ गड’ गोलको बल ५२ करोड रुपैयाँमा बिक्री

एजेन्सी । सन् १९८६ को विश्वकपको क्वार्टरफाइनल खेलमा दिवंगत फुटबलर डिएगो म्याराडोनाले इंगल्याण्ड विरुद्धको खेलमा हातले गोल गरेका थिए । तर, रेफ्रीले म्याराडोनाले हेडमार्फत् गोल गरेको ठानेर गोलको मान्यता दिए । खेल अर्जेन्टिनाले २–१ ले जित्यो ।

खेलपछि पत्रकारहरुसँग कुरा गर्दै म्याराडोनाले ठट्टाको शैलीमा भनेका थिए, ‘त्यो गोल थोरै म्याराडोनाको टाउको र थोरै भगवानको हातबाट भएको थियो ।’

त्यही खेलमा म्याराडोनाले इंगल्याण्डका पाँच जना खेलाडीलाई पालैपालो छक्याउँदै र गोलकिपर पिटर शिल्टनलाई बिट मार्दै अर्को उत्कृष्ट गोल गरेका थिए । जुन गोललाई पछि शताब्दीकै उत्कृष्ट गोलको संज्ञा दिइयो ।

यसपछि उक्त हाते गोल ‘ह्याण्ड अफ गड’ नामले विश्व फुटबलमा चर्चित छ । त्यही विवादास्पद गोलका कारण फुटबलको दुनियाँमा अर्जेन्टिना र इंगल्याण्डका खेलाडी, अफिसियल र समर्थकबीच अहिले पनि वादविवाद, घोचपेच चल्छ ।

अहिले म्याराडोनाले प्रयोग गरेको त्यही फुटबल २५ लाख पाउण्ड (करिब साढे ५२ करोड)मा लिलामी भएको छ । गत शनिवार अमेरिकाको हेरिटेज अक्सनमा त्यो बल ३३ लाख अमेरिकी डलर (२५ लाख पाउण्ड)मा बिक्री भयो । तर, यसको मूल्य १० मिलियन अमेरिकी डलरसम्म पुग्नसक्ने अनुमान गरिएको थियो ।

त्यसबेला सन् १९८६ मा ट्युनिसियाका रेफ्री अली बीन नासेरले खेल सकिएपछि उक्त फुटबललाई लिएर गएका थिए । जसलाई तीन दशकसम्म उनले आफूसँगै जतनका साथ राखेका थिए ।

सन् २०२३ मा उनै नासेरले सो खेलमा प्रयोग गरिएको एक मात्र सक्कली फुटबल त्यही भएको पुष्टि गरे । अन्य स्वतन्त्र अनुसन्धान र प्रमाणहरुले पनि सही ठहर्याएका थिए । उक्त ऐतिहासिक खेलमा म्याराडोनले लगाएको जर्सी सन् २०२२ मा ७१ लाख पाउण्डमा लिलामी भएको थियो ।

प्रतिक्रिया