बागलुङ । बागलुङको गलकोट नगरपालिका –३ मा रहेको एक घरबाट ग्रिनेट बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार खडकबहादुर खत्रीको तीन तले कच्ची घरको बिच तल्लामा रहेको खाली कोठाबाट ग्रिनेट बम फेला परेको हो।
सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हटियाबाट प्रहरी निरीक्षक हेमबहादुर थापाको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उक्त घरलाई सुरक्षा घेराभित्र राख्दै सर्वसाधारणको आवत–जावत नियन्त्रण गरेको जनाएको छ।
घटनास्थलमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक रामेश्वर तिवारीको कमाण्डमा थप प्रहरी टोली खटाइएको छ।
फेला परेको ग्रिनेट बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा घरधनी खडकबहादुर खत्री पूर्व भारतीय प्रहरी रहेको र उहाँको करिब १० वर्षअघि निधन भइसकेको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com