info@nawayug.com

सदर चिडियाखानाका जीवजन्तुमा ‘बर्ड फ्लु’ सङ्क्रमण पुष्टि:अनिश्चितकालका लागि चिडियाखाना बन्द

काठमाण्डौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानाका जीवजन्तुमा ‘बर्ड फ्लु’ सङ्क्रमण पुष्टि भएको छ । चिडियाखानाले आज सूचना निकालेर जीवजन्तुमा बर्ड फ्लु देखिएको जनाएको हो ।

जीवजन्तुमा बर्ड फ्लु देखिएपछि अर्को सूचना नआउञ्जेलसम्मका लागि चिडियाखाना बन्द गरिएको सूचनामा उल्लेख छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोषले सञ्चालन गर्दै आइरहेको चिडियाखानामा दैनिक अवलोकन गर्नेको भीड लाग्ने गर्छ ।

सङ्क्रमण थप फैलिन नदिन र आगन्तुकको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर तत्कालका लागि चिडियाखाना बन्द गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव डा। चिरञ्जीवी पोखरेलले जानकारी दिनुभयो ।

आजदेखि लागू हुने गरी चिडियाखानामा हुने सम्पूर्ण गतिविधि स्थगित गरिएको प्रवक्ता रचना साहले बताउनुभयो ।

अन्य दिनका तुलनामा भोलि रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन चिडियाखानामा अत्यधिक अवलोकनकर्ता आउने गरे पनि सुरक्षाका लागि बन्द गर्न पशु सेवा विभागले निर्देशन दिएको साहले जानकारी दिनुभएको छ ।

चिडियाखानामा सबैभन्दा पहिला कागहरू मरेका र त्यसपछि अन्य जीवजस्तु पनि प्रभावित भएका छन् ।

 

प्रतिक्रिया