info@nawayug.com

रास्वपाको निर्वाचन तालिका सार्वजनिक, केन्द्रीय सदस्य बन्न २१ हजार रुपैयाँ शुल्क

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । 

उम्मेदवारी मनोनयनका लागि फाराम वितरण भोलि दिउँसो १ बजेदेखि शुरु हुनेछ । उम्मेदवारी मनोनयनपत्र दर्ता दिउँसो २ बजेदेखि ४ बजेसम्म हुने कार्य तालिकामा उल्लेख छ । उम्मेदवारहरूको प्रारम्भिक नामावली बेलुका ६ बजे सार्वजनिक गरिनेछ । उम्मेदवारविरुद्ध दाबी तथा विरोध दर्ता गर्ने समय भोलि बेलुका ६ बजेदेखि ७ बजेसम्म तोकिएको छ । 

दाबी तथा विरोध परेका उम्मेदवारबारे जाँचबुझ बेलुका ७ बजेदेखि ९ बजेसम्म गरिनेछ भने उम्मेदवारी फिर्ता लिने अन्तिम समय राति सवा ९ बजेसम्म निर्धारण गरिएको छ । कार्य तालिकाअनुसार पार्टी सभापति तथा केन्द्रीय सदस्यको निर्वाचनका लागि पहिलो चरणको मतदान पर्सि असार ९ गते बिहान साढे ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ । 

महाधिवेशनमा सभापति पदका लागि ५१ हजार र अन्य पदाधिकारीका लागि ४१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ । केन्द्रीय सदस्यको उम्मेदवारी शुल्क २१ हजार रुपैयाँ तोकिएको छ । सभापतिका लागि १ जना प्रस्तावक र ५१ जना समर्थक रहनुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

त्यस्तै, पदाधिकारीका लागि १ जना प्रस्तावक र २१ जना समर्थक चाहिनेछ । केन्द्रीय सदस्यका लागि १ जना प्रस्तावक र २१ जना समर्थक रहनुपर्ने रास्वपाले जनाएको छ । मतगणना तथा मत परिणामको घोषणा मतदान सम्पन्न भएको दुई घण्टापछि गरिने तालिकामा उल्लेख छ ।


प्रतिक्रिया