काठमाडौँ । ब्रील एम्बोलोको विवादास्पद निष्कासन (रातो कार्ड) सँगै अर्जेन्टिनाको पक्षमा खेल मिलोमतो हुने गरेको ‘षडयन्त्रका सिद्धान्त’ हरू फेरि चर्चामा आएका छन् । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा खेल सकिन २० मिनेट बाँकी छँदा, भिडियो असिस्टेन्ट रेफ्रीको हस्तक्षेपपछि ‘डाइभिङ’ (फाउलको नाटक) गरेको भन्दै एम्बोलोलाई दोस्रो पहेँलो कार्ड देखाइएको थियो ।
के भएको थियो ?
खेलको दोस्रो हाफमा स्विट्जरल्याण्डका स्ट्राइकर एम्बोलोलाई फाउल गरेको भन्दै रेफ्री जोआओ पिनहेरोले सुरुमा अर्जेन्टिनाका मिडफिल्डर लियोान्ड्रो पारेडेसलाई पहेँलो कार्ड दिएका थिए । तर, यसै विश्वकपबाट लागू भएको नयाँ नियम (जसमा पहेँलो कार्डको गलत निर्णय सच्याउन भीएआर प्रयोग गर्न सकिन्छ) अन्तर्गत भीएआर टोलीले रेफ्रीलाई मोनिटरमा बोलायो ।
स्लो मोसनमा हेर्दा, पारेडेससँग सम्पर्क हुनुभन्दा अगाडि नै एम्बोलो भुइँमा लड्न खोजेको र सम्पर्क गराउन खुट्टा पछाडि छोडेको देखियो । पोर्चुगाली रेफ्रीले यसलाई ‘सिमुलेसन’ (नाटक) ठहर गर्दै पारेडेसको कार्ड रद्द गरे र एम्बोलोलाई दोस्रो पहेँलो कार्ड दिँदै मैदानबाट बाहिर पठाए ।
स्विट्जरल्याण्डको हार र आक्रोश
स्विट्जरल्याण्डका डान एनडोयेले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएको केही समयमै यो घटना भएको थियो । एम्बोलो रुँदै मैदानबाट बाहिरिएपछि बाँकी समय १० खेलाडीमा सीमित स्विट्जरल्याण्ड अतिरिक्त समयमा ३–१ ले पराजित भयो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेज र जुलियन अल्भारेजले थप गोल गरे ।
विचित्रको कुरा त के छ भने, यदि रेफ्रीले सुरुमा पारेडेसलाई कार्ड नदिएको भए, भीएआरले एम्बोलोको ‘डाइभिङ’ का लागि हस्तक्षेप गर्न पाउने थिएन।
पक्षपातको आरोप
यस विश्वकपमा अर्जेन्टिनाको पक्षमा लगातार विवादास्पद निर्णयहरू भइरहेको भन्दै समर्थकहरूले आलोचना गरिरहेका छन् ।
यसअघि इजिप्टविरूद्धको खेलमा पनि अर्जेन्टिनालाई ‘भार’ले जोगाएको थियो । इजिप्टको एक गोल विवादास्पद रूपमा रद्द गरिएको थियो ।
तथ्याङ्कअनुसार यस प्रतियोगितामा अर्जेन्टिनाका खेलाडीहरूले औसत २० वटा फाउल गर्दा मात्र एउटा कार्ड पाइरहेका छन्, जबकि अन्य टोलीले हरेक ६ फाउलमा कार्ड खाइरहेका छन् ।
सामाजिक सञ्जालमा कतिपय समर्थकहरूले यसलाई ‘फिक्स्ड’ (पहिल्यै तय गरिएको) विश्वकप भन्दै फिफाले प्रायोजकहरूको स्वार्थका लागि मेस्सीलाई फाइनलमा पुर्याउन खोजेको आरोप लगाएका छन् ।
यद्यपि, धेरै फुटबल विज्ञहरूले भने एम्बोलोले ‘डाइभिङ’ गरेकै कुरामा सहमति जनाएका छन् । खेल विश्लेषक ब्राडली राइट–फिलिप्सले भने, ‘मलाई एम्बोलोका साथीहरूको लागि दुःख लागेको छ, तर उनकै गल्तीले गर्दा स्विट्जरल्याण्ड सेमिफाइनल पुग्नबाट वञ्चित भयो ।’
सामाजिक सञ्जालमा पनि धेरैले यसलाई ‘अनावश्यक डाइभिङ’ भन्दै एम्बोलोले आफ्नै टोलीलाई धोका दिएको टिप्पणी गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com