info@nawayug.com

विश्वकप २०२६ : साविक विजेता अर्जेन्टिना र नवप्रवेशी केब भर्डे खेल्दै

काठमाण्डौं । फिफा विश्वकप फुटबलको नकआउट चरणमा भोलि बिहान पौने ४ बजे साविक विजेता अर्जेन्टिना र केब भर्डे खेल्दैछन् । यो खेल अमेरिकाको मियामी रङ्गशालामा हुनेछ ।

अर्जेन्टिना समूह ‘जे’ को विजेता र केब भर्डे समूह ‘एच’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

पहिलो पटक विश्वकप खेलिरहेको केब भर्डे समूह चरणको पहिलो खेलमै स्पेनलाई बराबरीमा रोकेर चर्चामा आएको टोली हो । स्पेनका खेलाडीले प्रहार गरेका २७ मध्ये ७ वटा गोलपोस्टभित्र थिए । तर केब भर्डेका गोलकिपर भोजिन्हाले उत्कृष्ट बचाउ गर्दै सन् २०१० को विजेता स्पेनलाई बराबरीमा रोकेका थिए ।

यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले ६ गोल गरिसकेका छन् । केब भर्डेका लागि मेसीलाई रोक्नु ठूलो चुनौती हुनेछ ।

यो विश्वकपमा ४ वटा टोली नयाँ थिए । केब भर्डे नकआउटमा पुग्दा कुरासाओ, जोर्डन र उज्वेकिस्तान भने समूह चरणबाटै बाहिरिए ।

त्यसअघि विश्वकप फुटबलको नकआउटमा आज राति अस्ट्रेलिया र इजिप्ट खेल्दैछन् । यो खेल राति पौने १२ बजे अमेरिकाको डालास रङ्गशालामा शुरू हुनेछ ।

अस्ट्रेलिया समूह ‘डी’ को उपविजेता र इजिप्ट समूह ‘जी’ को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन् । विश्वकपमा अस्ट्रेलिया र इजिप्टबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो । यसअघि अस्ट्रेलिया र इजिप्टबीच २ पटक भेट भएकोमा दुवै टोलीले १/१ खेल जितेका छन् ।

विश्वकप फुटबलको नकआउटमा भोलि बिहान सवा ७ बजे कोलम्बिया र घाना खेल्दैछन् । यो खेल अमेरिकाको कन्सास सिटी रङ्गशालामा हुनेछ ।

कोलम्बिया समूह ‘के’ को विजेता र घाना समूह ‘एल’ बाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन् । फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

यो ‘राउन्ड अफ ३२’ को अन्तिम खेल हो । अहिलेसम्म १३ वटा टोली प्रिक्वाटरफाइनलमा पुगेका छन्, अब ३ वटा टोली टुङ्गो लाग्न बाँकी छ ।

प्रिक्वाटरफाइनलमा क्यानडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इङ्ग्ल्यान्डले एकअर्कासँग खेल्ने पक्का भएको छ । यस्तै स्विट्जरल्यान्डले कोलम्बिया र घानाबीचको खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया