info@nawayug.com

सुपथ मूल्यमा मकवानपुरमा ८ लाख बढीको खाद्यान्न बिक्री, उपभोक्तालाई राहत

बागमती । चाडपर्वलाई लक्षित गरी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले सञ्चालन गरेको सुपथ मूल्य पसलबाट आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको छ ।

सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयबाट नुन, चिनी, तेल र मैदा छुट मूल्यमा बिक्री गरिँदै आएको छ । दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए ।

उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा खरिद गर्न पाउने व्यवस्था गरिएको थियो ।

सुपथ मूल्य पसलमा बजार मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको अधिकारीले बताए ।

कार्यालयका अनुसार उक्त अवधिमा ५० किलोका ६० बोरा चिनी, १० क्विन्टल नुन, सात क्विन्टल मैदा तथा ५०० लिटर तेल बिक्री भएको छ ।

चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुपथ मूल्य पसल कात्तिक मसान्तसम्म जारी रहने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए । साल्ट ट्रेडिङले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गत असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

साल्ट ट्रेडिङ कर्पोरेसनले हेटौँडासहित विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा समेत सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया