बेइजिङ। चीन ले होर्मुज जलघाँटी आसपास अमेरिका ले लागू गरेको नाकाबन्दीप्रति कडा आपत्ति जनाएको छ। बेइजिङले उक्त कदमलाई ‘खतरनाक र गैरजिम्मेवारपूर्ण’ भन्दै यसले क्षेत्रीय तनाव बढाउने र नाजुक युद्धविरामलाई कमजोर पार्ने चेतावनी दिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानी बन्दरगाहतर्फ जाने वा त्यहाँबाट निस्कने जहाजमाथि कडा सैन्य कारबाही, आवश्यक परे डुबाउनेसम्मको चेतावनी दिएपछि चीनले यस्तो प्रतिक्रिया जनाएको हो। उक्त अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा चिन्ता थप बढाएको छ।
शान्ति वार्ता निष्कर्षविहीन बनेपछि ट्रम्प प्रशासनले खाडी क्षेत्रमा इरानी बन्दरगाह र तटीय मार्गमा आवतजावत गर्ने जहाजहरूलाई अवरुद्ध गर्ने निर्णय गरेको थियो। इरान र अमेरिका बीच दुई हप्ताको युद्धविराम भए पनि नाकाबन्दी कार्यान्वयनमा आइसकेको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुन ले पत्रकार सम्मेलनमा यस्तो कदमले तनाव घटाउनुको सट्टा झन् बढाउने बताएका छन्। उनका अनुसार, यसले संवेदनशील अवस्थामा रहेको युद्धविरामलाई कमजोर पार्नुका साथै होर्मुज हुँदै हुने अन्तर्राष्ट्रिय जलयातायातको सुरक्षामा गम्भीर जोखिम निम्त्याउँछ।
उनले यसलाई अन्तर्राष्ट्रिय स्थिरता र शान्ति प्रयासविपरीत कदम भन्दै जिम्मेवार व्यवहार नभएको स्पष्ट पारे।
यसअघि इरानले पनि होर्मुज जलघाँटीमा आफ्नो नियन्त्रण कडा पार्दै आफू अनुकूल देशका जहाजलाई मात्र आवतजावतको अनुमति दिएको थियो, जसले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा थप दबाब सिर्जना गरेको छ।
विश्लेषकहरूका अनुसार अमेरिकी नाकाबन्दीको उद्देश्य इरानको आर्थिक स्रोतमा दबाब सिर्जना गर्नुका साथै इरानी तेलका प्रमुख खरिदकर्ता चीनलाई तेहरानमाथि दबाब दिन बाध्य पार्नु हो। उल्लेखनीय रूपमा, विश्वको करिब पाँचौँ भाग तेल यही मार्ग हुँदै ओसारपसार हुन्छ।
यसैबीच, संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतले अमेरिकी कदमलाई आफ्नो देशको सार्वभौमसत्तामाथिको गम्भीर उल्लङ्घन बताएका छन्।
अर्कोतर्फ, चिनियाँ राष्ट्रपति सी जिनपिङ ले खाडी तथा मध्यपूर्वका देशहरूको सार्वभौमसत्ताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। बेइजिङ मा शेख खालिद बिन मोहम्मद बिन जायद अल नाह्यान सँगको भेटपछि उनले चीन शान्ति प्रक्रियामा ‘रचनात्मक भूमिका’ खेल्न तयार रहेको बताएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com