काठमाडौं । नेपाल आयल निगमले ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । टिमले आजदेखि नै आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको निगमले जनाएको छ ।
क्विक रेस्पोन्स टिममा उद्योग मन्त्रालयका तर्फबाट मंगल बिष्ट, नेपाल आयल निगमबाट इन्दु श्रेष्ठ र उपेन्द्र सुवेदी, ग्यास उद्योगबाट आयुस नेपाल र कुलप्रसाद राई सदस्य छन् ।
टिमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा ग्यासको अभाव वा वितरणसम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको छ । निगमको हटलाइनमा प्राप्त हुने गुनासोका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ ।
निगमका अनुसार, पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढेपछि समस्या तत्काल सम्बोधन गर्न यो संयन्त्र गठन गरिएको हो । टिमले कार्यालय समयभित्र प्राप्त हुने गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्दै सकेसम्म तत्काल समाधान गर्ने गरी काम गर्नेछ ।
उपभोक्ताले ग्यास आपूर्तिसम्बन्धी कुनै समस्या वा गुनासो भए कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् । उक्त नम्बरमा प्राप्त हुने गुनासोमाथि क्विक रेस्पोन्स टिमले तत्काल आवश्यक पहल गरी समाधान प्रक्रिया अगाडि बढाउने निगमले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com