info@nawayug.com

विश्व बैङ्कको चेतावनी:मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रलाई कोभिडपछिकै कमजोर अवस्थामा पुर्‍याउन सक्ने

काठमाण्डौं । मध्यपूर्वमा चलिरहेको इरान-अमेरिका द्वन्द्वका कारण विश्व अर्थतन्त्र कोभिड–१९ महामारीपछिकै सबैभन्दा सुस्त वृद्धिदरतर्फ जाने जोखिम बढेको भन्दै विश्व बैङ्कले चेतावनी दिएको छ ।

विश्व बैङ्कले सार्वजनिक गरेको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स प्रतिवेदनमा सन् २०२६ का लागि विश्व आर्थिक वृद्धिदरको अनुमान २.९ प्रतिशतबाट घटाएर २.५ प्रतिशतमा झारेको छ । ऊर्जा मूल्यमा तीव्र वृद्धि, मुद्रास्फीति चाप तथा ऋणको लागत बढ्नु यसका प्रमुख कारण रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व बैङ्कका अनुसार मध्यपूर्वको द्वन्द्वले विश्व ऊर्जा आपूर्ति शृङ्खलामा गम्भीर असर पारेको छ ।

विशेष गरी इरानले विश्वका प्रमुख तेल तथा ग्यास ढुवानी मार्गमध्ये एक मानिने होर्मुज जलडमरू बन्द गरेपछि अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति प्रभावित भएको छ । प्रतिवेदनले यस वर्ष ब्रेन्ट कच्चा तेलको औसत मूल्य प्रतिव्यारेल ९४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ, जुन गत वर्षको औसतभन्दा ३६ प्रतिशत बढी हो ।

मलखादको मूल्य पनि उल्लेख्य रूपमा बढ्ने प्रक्षेपण गरिएको छ, जसले खाद्यान्न मूल्यमा थप दबाब सिर्जना गर्नेछ । विश्व बैङ्कले विश्वव्यापी मुद्रास्फीति यस वर्ष ४ प्रतिशत पुग्ने अनुमान गरेको छ । यो दर गत वर्षको ३.३ प्रतिशतभन्दा उल्लेख्य रूपमा बढी हो । प्रतिवेदनमा द्वन्द्व थप चर्किएर ऊर्जा आपूर्तिमा अझ ठूलो अवरोध आए विश्व आर्थिक वृद्धिदर १.३ प्रतिशतसम्म झर्न सक्ने चेतावनी दिइएको छ । त्यस्तो अवस्थामा विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशतसम्म पुग्न सक्ने विश्व बैङ्कको आङ्कलन छ ।

अमेरिका र इरानबीच भएको युद्धविराम अझै नाजुक अवस्थामा रहेको र दुवै पक्षबाट तनाव पुनः बढ्न सक्ने जोखिम कायम रहेकाले विश्व अर्थतन्त्रमाथि थप दबाब पर्न सक्ने विश्व बैङ्कले जनाएको छ ।

प्रतिक्रिया