info@nawayug.com

कैदीलाई होटल लगेर खुवाए मासु र बियर,दुई प्रहरी बर्खास्त

काठमाडौं । काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक जना कैदीलाई होटल लगेर मासु र बियर खुवाएको घटनामा दुई जना प्रहरी बर्खास्तीमा परेका छन्।

जेठ १ गते कारागारमा रहेका अनुप भण्डारी नामका कैदीलाई कारागारबाट हतकडीबिना निकालेर होटल लगेको पाइएको थियो। ती कैदीलाई होटलसम्म प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले लगेको खुलेको छ।

उनीहरू दुवै जनालाई बर्खास्त गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीले जानकारी दिए। ‘उनीहरूमाथि छानबिन गरी बर्खास्त गरिएको हो,’ उनले भने।

स्रोतका अनुसार कुँवर र विकले भण्डारीलाई होटल लगेर युवतीलाई पनि भेट गराएका थिए।

‘कारागारबाट लगेर मासु र बियर खुवाउने, युवती भेटाउने समेतको काम गरेको भेटियो। उनलाई अस्पताल लग्ने भनेर कारागारबाट निकालिएको देखियो,’ स्रोतले भन्यो।

प्रतिक्रिया