काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भारत सीमा विवाद समाधानमा मध्यस्थता मागेर नभई कूटनीतिक माध्यमबाटै समाधान गर्ने बताउनुभएको छ । भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल सकेर दिल्लीमा रहेको नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री खनालले यस्तो बताउनुभएको हो ।
उहाँका अनुसार नेपालले लिपुलेक र कालापानी क्षेत्रमाथिको आफ्नो दाबी भारत र चीन दुवैलाई कूटनीतिक नोटमार्फत जानकारी गराइसकेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले बेलायतका पुस्तकालयहरूमा रहेका ऐतिहासिक दस्तावेजमा पहुँच खोज्ने उल्लेख गर्नुभएको भन्दै खनालले यसको अर्थ मध्यस्थता माग्ने होइन, कूटनीतिक माध्यमबाटै समाधान गरिने रहेको बताउनुभयो ।
इपीजी प्रतिवेदन सार्वजनिक गर्ने सम्बन्धमा उहाँले त्यो प्रतिवेदन दुवै देशका प्रधानमन्त्रीको सहमतिबिना सार्वजनिक गर्ने अधिकार आफूसँग नरहेको बताउनुभयो । भारतीय सेनामा गोर्खा भर्नाको विषयमा अग्निपथ योजनापछि देखिएको गतिरोधबारे बोल्दै उहाँले यो विषयमा छलफल नभएको तर उपयुक्त समयमा वार्तामा बसेर समाधान खोजिने बताउनुभयो ।
दुई देशबीचको सम्बन्धलाई भूराजनीतिकभन्दा विकास कूटनीतिको चिराबाट हेर्न चाहेको उहाँको भनाइ छ । भारत भ्रमण सम्पन्न गरी परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किँदै हुनुहुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com