info@nawayug.com

एल–निनोको प्रभाव बढ्दै, नेपालमा मनसुन ढिलो र खडेरीको जोखिम

काठमाण्डौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति पार भएको चार दिन बितिसक्दा पनि मनसुन भित्रिएको छैन । एक हप्ताअघि नै नेपालको सीमा क्षेत्रमा आइपुगेको मनसुन अझै अघि बढ्न नसकेको मौसमविद्हरूले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसमविद् डा। विनोद पोखरेलका अनुसार एक हप्तादेखि मनसुन जहाँको तहीँ स्थिर छ ।

जुन १३ तारिख मनसुन भित्रिने औसत मिति भए पनि १० दिनसम्मको अघिपछिलाई सामान्य मानिन्छ । तर यस वर्ष प्रशान्त महासागरमा उत्पन्न भएको ‘एल–निनो’ का कारण निकै कम पानी पर्ने अनुमान गरिएकाले मनसुनको यो ढिलाइले चिन्ता बढाएको हो ।

मौसमविद् डा। पोखरेल यसपालि पश्चिम क्षेत्रसहित धेरै ठाउँमा चरम सुक्खा हुने जोखिम रहेको बताउनुहुन्छ । नेपालमा पछिल्ला १५ मध्ये धेरैजसो हिउँद सुक्खा बनेका छन् भने गएको वर्ष मधेश प्रदेशलाई सुक्खा क्षेत्र नै घोषणा गरिएको थियो । यस्तै लगातार पछिल्ला तीन वटा हिउँदमा ८० प्रतिशतभन्दा कम पानी परेको छ जुन चरम सुक्खाको अवस्था हो ।

त्रिविकै सहप्राध्यापक डा। मदन सिग्देल यस पटक ‘सुपर एल–निनो’ को सम्भावना रहेकाले अबको एक महिनापछि निकै कम पानी पर्न सक्ने बताउनुहुन्छ । उहाँले खडेरीको जोखिमलाई मध्यनजर गर्दै सबै तहका सरकारले तत्काल तयारी थाल्नुपर्ने सुझाव दिनुभएको छ ।

यसैबीच संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार सन् १९९५ देखि हरेक वर्ष जुन १७ मा मनाइने ’विश्व खडेरीविरुद्धको सङ्घर्ष दिवस’ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । मरुभूमिकरण र भूमि क्षयीकरण रोक्दै दिगो भूमि व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य बढाउने उद्देश्यका साथ यस वर्ष ‘चरन क्षेत्र : पहिचान, सम्मान र पुनर्स्थापना गरौँ’ भन्ने नाराका साथ यो दिवस मनाइएको हो ।

‘एल–निनो’ समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै ‘एल–निनो’ प्रभाव हो ।

प्रतिक्रिया