info@nawayug.com

महिनावारीलाई राजस्वको स्रोत बनाउने राज्यले महिला सशक्तीकरणको भाषण गर्न सुहाउँदैन : पुरुषोत्तम यादव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग जोडदार माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउँदै सांसद यादवले महिनावारी कुनै रहर नभई महिलाको प्राकृतिक आवश्यकता भएको स्पष्ट पारेका हुन् ।

उनले महिनावारीको समयमा सुरक्षित र स्वस्थ रहन पाउनु हरेक महिलाको मौलिक हक र सम्मानको विषय भएको उल्लेख गर्दै यस विषयमा सरकारले दोहोरो मापदण्ड अपनाएको भन्दै प्रश्न उठाएका छन् । महिनावारीलाई राजस्वको स्रोत बनाउने राज्यले समानता र महिला सशक्तीकरणका बारेमा बोल्ने नैतिक अधिकार समेत नराख्ने उनले कडा टिप्पणी गरे ।

सांसद यादवले जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने चुरोट, मदिरा जस्ता हानिकारक पदार्थमा कर थप वृद्धि गर्न सरकारलाई सुझाव दिएका छन् । महिलाको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको स्यानिटरी प्याड जस्तो संवेदनशील वस्तुमा कर लगाइरहनु राज्यको असंवेदनशीलताको प्रतीक भएको उनको भनाइ थियो ।

सरकारको दोहोरो नीतिको आलोचना गर्दै सांसद यादवले भने, ‘एकातिर महिला सशक्तीकरण र लैङ्गिक समानताका ठुला भाषण गर्ने, अर्कोतिर स्यानिटरी प्याड जस्तो आधारभूत आवश्यकताका सामग्रीमा कर लगाउने कार्य सामाजिक न्यायको सिद्धान्त विपरीत छ । यो केवल आर्थिक मुद्दा मात्र होइन, यो महिलाको प्रतिष्ठा, स्वास्थ्य र समान अवसरको प्रश्न पनि हो ।’

संसद्‌मा बोल्दै उनले स्यानिटरी प्याड जस्तो स्वास्थ्य सुरक्षासँग जोडिएको विलामा लाग्दै आएको कर पूर्ण रूपमा खारेज गरी महिलाहरूलाई राहत दिन र राज्यको दायित्व पूरा गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया