काठमाण्डौं । आज मध्यरातिदेखि शुरू हुने फिफा विश्वकप फुटबल २०२६ लाई जलवायु परिवर्तनले गम्भीर असर पार्ने देखिएको छ । संयुक्त राष्ट्रसङ्घले यस वर्षको प्रतियोगितामा अत्यधिक गर्मी एक प्रमुख र निर्णायक कारक हुने चेतावनी दिएको छ ।
जर्मनीको बोनमा शुरू भएको १० दिने जलवायु सम्मेलनका क्रममा राष्ट्रसङ्घले बढ्दो विश्वव्यापी तापक्रमको प्रत्यक्ष प्रभाव मैदान, स्ट्यान्डमा बस्ने दर्शक र सबै आयोजक शहरहरूमा देखिने बताएको छ ।
प्रतिवेदनले यस विश्वकपमा झन्डै २५ प्रतिशत अर्थात् ४ मध्ये १ खेल अत्यधिक गर्मीमा हुन सक्ने चेतावनी दिएको छ । खेलको समयमा मैदानमा रहेका खेलाडीहरूले तत्काल गहन चिकित्सा हेरचाह र अन्य आवश्यक सुविधाहरू प्राप्त गर्नेछन् तर रङ्गशालामा खेल हेर्न आउने प्रशंसकहरूले चर्को गर्मीको सामना गर्नुपर्नेछ । प्रशंसकहरूका लागि कुनै विशेष व्यवस्था गरिएको छैन ।
संयुक्त राष्ट्रसङ्घीय जलवायु एजेन्सीले रङ्गशाला बाहिरको वातावरणका बारेमा सबैभन्दा ठूलो चिन्ता व्यक्त गरेको छ जहाँ जोखिम सबैभन्दा धेरै हुन सक्छ । फ्यान जोन, लामो टिकट लाइन, यातायात मार्ग, कार पार्क र खेल अघि र पछि बाहिरी उत्सवहरूले मानिसहरूलाई खतरनाक गर्मीको लहरमा पार्न सक्छ ।
२३औँ संस्करणको विश्वकप फुटबलको उद्घाटन खेलमा आज राति पौने १ बजे मेक्सिको र दक्षिण अफ्रिका खेल्दैछन् । पहिलो पटक ३ वटा देश – अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा प्रतियोगिता अयोजना गरेका हुन् । यस्तै प्रतियोगितामा पहिलो पटक ४८ वटा टोली सहभागी छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com