info@nawayug.com

मकवानपुरमा विद्युत सर्ट भई आगलागी, साढे १२ लाख बढीको क्षति


मकवानपुर  । मकवानपुरको बकैया गाउँपालिकामा गएराति विद्युत सर्ट भई अचानक आगलागी हुँदा साढे १२ लाख रुपैयाँभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ। बकैया गाउँपालिका वडा नम्बर ३, चिसापानी बस्ने कुल बहादुर घिसिङको घरमा राति अन्दाजी ९ः५५ बजेको समयमा अचानक आगो सल्किएको हो। आगलागीबाट घिसिङको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने घटनामा कुनै मानवीय तथा पशुचौपायाको क्षति भने भएको छैन।

घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी हात्तीसुँडे र इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रहरी, स्थानीय बासिन्दा, बागमती गाउँपालिकाको दमकल र हेटौँडा उपमहानगरपालिकाको दमकलको संयुक्त सहयोगमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। राति ढिलो गरी आगो नियन्त्रणमा आएकाले घरभित्र रहेका कुनै पनि सरसामान जोगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

आगलागीबाट कुल १२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको विवरण प्राप्त भएको छ। जसअन्तर्गत अनुमानित ७५ हजार रुपैयाँ बराबरको ३० मुरी धान, ५३ हजार रुपैयाँ बराबरको १५ क्विन्टल मकै, ४५ हजार रुपैयाँ मूल्य पर्ने एउटा विद्युतीय घट्ट र १ लाख रुपैयाँ बराबरको फर्निचरका सामान जलेर नष्ट भएका छन्। यसका साथै घरभित्र रहेका अन्य लत्ताकपडा, भाँडाकुँडा, विद्युतको मिटर र घर समेत पूर्ण रूपमा चपेटामा पर्दा उक्त परिमाणको क्षति भएको हो।

प्रतिक्रिया