info@nawayug.com

एनपीएलमा चम्किए मकवानपुरका रिजन ढकाल, बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी

मकवानपुर । मकवानपुरका क्रिकेटर रिजन ढकाल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन्। चितवन राइनोजबाट प्रतिनिधित्व गरेका रिजनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै आफ्नो क्षमता प्रमाणित गरेका हुन्।

तेस्रो संस्करणको एनपीएलमा रिजनले आठ खेल खेल्दै कुल १७ विकेट लिए। उनले २७ ओभर बलिङ गर्दा ६.२२ को इकोनोमी कायम गरेका थिए। यससँगै उनी प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीसमेत बनेका छन्।

रिजनले सर्वोत्कृष्ट खेलाडी बनेबापत ६० लाख रुपैयाँ मूल्यको ओमोडा कार प्राप्त गरेका छन्। त्यस्तै, सर्वाधिक विकेट लिने खेलाडीका रूपमा गोल्डेन क्यापसहित २ लाख रुपैयाँ नगद र नेपाली खेलाडीमध्ये सर्वाधिक विकेट लिएको आधारमा पल्सर मोटरसाइकलसमेत प्राप्त गरेका छन्।

प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन काठमाडौं गोर्खाजविरुद्धको एलिमिनेटर खेलमा देखिएको थियो। उक्त खेलमा उनले १६ रन खर्चेर ४ विकेट लिएका थिए। यो प्रदर्शन प्रतियोगिताकै उत्कृष्ट बलिङ प्रदर्शनमध्ये एक बनेको थियो।

हेटौंडा–५ पिप्ले, ढकाल चोकका रिजन नेपाली क्रिकेटमा सम्भावना बोकेका बायाँहाते मध्यम तीव्र गतिका बलर हुन्। बललाई स्विङ गराउन सक्ने क्षमता भएका उनले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो प्रभाव देखाउँदै आएका छन्।

रिजनले सन् २०१४ मा मलेसियामा आयोजित यू–१६ अन्तर्राष्ट्रिय प्रतियोगिताबाट आफ्नो क्रिकेट यात्रामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका थिए। उक्त प्रतियोगितामा नेपाली टोलीले उपाधि जित्दा उनले सेमिफाइनलमा दुई तथा फाइनलमा एक विकेट लिँदै योगदान दिएका थिए।

त्यसपछि विभिन्न उमेर समूहका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरेका रिजन सन् २०२१ मा पहिलोपटक नेपाली राष्ट्रिय क्रिकेट टोलीमा स्थान बनाउन सफल भएका थिए। उनले नेपालका लागि एकदिवसीय तथा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा समेत प्रतिनिधित्व गरिसकेका छन्।

एनपीएलका तीनवटै संस्करणमा चितवन राइनोजबाट खेलेका रिजनको यसपटकको प्रदर्शनलाई नेपाली क्रिकेटमा महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। उनको सफलताले मकवानपुरको क्रिकेट क्षेत्रलाई राष्ट्रिय स्तरमा थप चिनाउन मद्दत पुगेको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै रिजनले मकवानपुरको खेलकुद क्षेत्रको प्रतिष्ठा बढाएका छन्। उनको यो उपलब्धिले जिल्लाका युवा क्रिकेटरहरूलाई व्यावसायिक क्रिकेटतर्फ अघि बढ्न थप प्रेरणा दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया