info@nawayug.com

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

काठमाडौं । भारतको रेल मन्त्रालयले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न औपचारिक स्वीकृति दिएको छ।

भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार (१४ नोभेम्बर २०२६) जारी गरेको सूचनाअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवाले दुई देशका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थललाई प्रत्यक्ष जोड्नेछ।

रामायण परम्परासँग जोडिएका माता सीताको जन्मस्थल जनकपुरधाम र भगवान् श्रीरामको जन्मस्थल अयोध्यालाई जोड्ने यस सेवाले दुवै देशका तीर्थयात्री तथा पर्यटकलाई सहज आवागमनको सुविधा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

निर्धारित तालिकाअनुसार रेल हप्तामा एकपटक सञ्चालन हुनेछ। जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्नेछ।

यो रेल सेवा बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा नगर हुँदै सञ्चालन हुनेछ। यात्रु चढाउने र ओराल्ने प्रयोजनका लागि जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक बिसौनी रहनेछन्।

नयाँ रेल सेवाले भारत सरकारको महत्त्वाकाङ्क्षी ‘रामायण सर्किट’ अवधारणाअन्तर्गत धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ। यसका साथै शिक्षा, स्वास्थ्य उपचार, व्यापार तथा पारिवारिक भेटघाटका लागि सीमापार आवतजावत गर्ने सर्वसाधारणलाई समेत सहज हुने अपेक्षा छ।

रेल सेवा सञ्चालनमा आएपछि जनकपुरधाम र अयोध्याका पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्र, स्थानीय व्यापारी र परम्परागत कालीगढले नयाँ व्यावसायिक अवसर प्राप्त गर्नेछन्। यसले मधेश प्रदेश तथा भारतका बिहार र उत्तर प्रदेशका सीमावर्ती क्षेत्रको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

भारतीय रेल मन्त्रालयले रेल कनेक्टिभिटीको यो पहलले नेपाल र भारतका जनता तथा समुदायलाई अझ नजिक ल्याउनुका साथै दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने जनाएको छ।

यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीले हालैको नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शाहसँग अयोध्या–जनकपुरधाम रेलमार्गबारे छलफल गरेका थिए। उक्त भेटमा मिस्रीले भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म सीधा रेल सेवा सञ्चालन गर्ने विषयमा जानकारी गराएका थिए।

प्रतिक्रिया