info@nawayug.com

डेंगुको जोखिमपूर्ण समय अझै बाँकी, लुम्बिनीमा संक्रमण बढ्दो

बुटवल । लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ११ जिल्लामा डेंगु संक्रमित बिरामी भेटिएका छन् ।

स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म प्रदेशभर २४९ जना डेंगु संक्रमित बिरामी ओपीडीमा दर्ता भएका छन् । साउनसम्मको तथ्यांकअनुसार पूर्वी रुकुमबाहेक प्रदेशका सबै जिल्लामा डेंगु संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

पछिल्ला वर्षको तुलनामा चालु आर्थिक वर्षको साउनसम्म डेंगु संक्रमितको संख्या कम देखिएको छ । आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशमा २ हजार ५६१ जना डेंगु संक्रमित बिरामी दर्ता भएका थिए । त्यसअघि २०८१/८२ मा ५ हजार १६ जना र २०८०/८१ मा ३ हजार ८३२ जना संक्रमित भेटिएका थिए ।

तर, अघिल्ला वर्षको तथ्यांक पूर्ण आर्थिक वर्षको भए पनि चालु आर्थिक वर्षको तथ्यांक साउनसम्मको मात्र भएकाले यसैलाई आधार बनाएर डेंगु संक्रमण घटेको निष्कर्ष निकाल्न हतार हुने स्वास्थ्य अधिकारीहरू बताउँछन् । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका जनस्वास्थ्य अधिकृत कृष्णगोपाल चौधरीले साउनमा तुलनात्मक रूपमा संक्रमण कम देखिए पनि डेंगुको जोखिम कायमै रहेको बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको तथ्यांक साउनसम्मको मात्रै भएकाले अघिल्ला वर्षसँग सोझो तुलना गर्न मिल्दैन । आगामी महिनामा संक्रमणको अवस्था कस्तो हुन्छ भन्ने आधारमा मात्रै चालु आर्थिक वर्षको समग्र अवस्थाको मूल्यांकन गर्न सकिने उनले बताए ।

जिल्लागत अवस्था के छ ?

लुम्बिनी प्रदेशमा १२ जिल्लामध्ये प्रदेशमा निर्देशनलाई उपलव्ध तथ्यांकअनुसार रुकुम पूर्वमा भने डेंगुका बिरामी साउनमा शून्य छ । तर अन्य सबै जिल्लामा डेंगु रोगका बिरामी भेटिएका छन् । प्रदेशका विभिन्न जिल्लामध्ये यो साउनमा पाल्पा र दाङमा डेंगुका बिरामी सबैभन्दा बढी देखिएका छन् ।

निर्देशनालयको विवरण अनुसार पाल्पामा ६१ र दाङमा ५६ जना बिरामी दर्ता भएका छन् । त्यस्तै, अन्य जिल्लाहरूको अवस्था हेर्दा रुपन्देहीमा ४८, अर्घाखाँचीमा २४, बाँकेमा १९, गुल्मीमा १४, नवलपरासी पश्चिममा १०, कपिलवस्तुमा ८ र बर्दियामा ७ जना बिरामी भेटिएका छन् । यसैगरी रोल्पा र प्युठानमा एक/एक जना बिरामी दर्ता भएको  छन् । 

भदौ–असोजमा बढी जोखिम

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका फिजिसियन डा। नन्दु पाठकका अनुसार डेंगु संक्रमण विशेषगरी भदौ र असोजमा बढी फैलिने गर्छ । उनका अनुसार डेंगु लामखुट्टेको टोकाइबाट सर्ने भएकाले संक्रमण नियन्त्रणका लागि लामखुट्टेको वृद्धि रोक्नुका साथै व्यक्तिगत सावधानी अपनाउन आवश्यक छ । 

डेंगु सार्ने एडिस जातको लामखुट्टे सफा पानी जमेको स्थानमा समेत हुर्किने भएकाले घर, कार्यालय तथा आसपासका क्षेत्रमा पानी जम्न नदिन चिकित्सकहरूले सुझाव दिएका छन् । विशेषगरी घरवरपर रहेका पुराना टायर, गमला, प्लास्टिकका भाँडा, पानीका ट्यांकी तथा अन्य भाँडाकुँडामा पानी जम्न नदिन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया