info@nawayug.com

गुप्तचर सूचनापछि बेलायतमा तैनाथ बमवर्षक विमान फिर्ता

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधार शिविरमा ‘केही खतरा’ देखिएका कारण अमेरिकाले रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्डबाट आफ्ना बमवर्षक विमानहरू हटाएको बताएका छन् । 

पेन्टागनले गत आइतबार नै फेयरफोर्डबाट आफ्ना बी-वान मोडलका करिब एक दर्जन बमवर्षक विमानहरू अमेरिकास्थित आफ्नै गृह स्टेशनमा फर्काइएको पुष्टि गरेको थियो । सोमबार नेब्रास्का प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सम्भावित खतराको सूचना पाएकाले बमवर्षक विमानहरू त्यहाँबाट हटाउने निर्णय लिइएको जानकारी दिए ।

अमेरिकी सञ्चारमाध्यमहरूले इरानले ड्रोन आक्रमणको योजना बनाइरहेको गुप्तचर सूचनाका आधारमा यो निर्णय लिइएको दाबी गरेका छन् । ट्रम्पले यस विषयमा विस्तृत खुल्न अस्वीकार गरेका छन् । आरएएफ फेयरफोर्डबाट विमान हटाउन बाध्य पार्ने खतराको वास्तविक प्रकृति अझै अस्पष्ट छ । तर वासिङ्टनसँग सम्बद्ध स्रोतहरूले इरानसँग पुनः द्वन्द्व बढेको खण्डमा ती संवेदनशील र बहुमूल्य विमानहरूमाथि तोडफोड वा आक्रमणको प्रयास हुनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

ह्वाइट हाउस निकट एक स्रोतले गत वर्ष जुनमा युक्रेनले सञ्चालन गरेको ‘अपरेशन स्पाइडरवेब’को उदाहरण दिँदै टाढाबाट पनि शत्रु पक्षले यस्तै किसिमको क्षति पुर्‍याउन सक्ने बताएको छ । उक्त अपरेसनका क्रममा युक्रेनले ट्रक चालकहरूलाई समेत थाहा नदिई ड्रोनहरू लुकाएर रुसभित्र पुर्‍याएको थियो र पछि तिनै ड्रोनमार्फत रुसी एयरबेसलाई निशाना बनाइएको थियो । स्रोतले थपेको छ, ‘खतरा जेसुकै भए पनि यसलाई अत्यन्त गम्भीरताका साथ लिइएको थियो ।’

यसअघि सोमबार १० डाउनिङ स्ट्रिटका प्रवक्ताले आरएएफ फेयरफोर्ड सुरक्षित रहेको दाबी गर्दै उक्त सैन्य आधार शिविरको सुरक्षाका लागि बेलायती प्रहरी, रक्षा तथा सुरक्षा निकायले गरेको कामको ट्रम्पले गत हप्ता प्रशंसा गरेको स्मरण गराएका थिए ।

गत सेप्टेम्बर २७ मा सैन्य आधार शिविर नजिकै तीनवटा ‘शङ्कास्पद सवारी साधन’ देखिएपछि प्रहरीलाई खबर गरिएको थियो । त्यसलगत्तै उत्पन्न गम्भीर परिस्थिति र नयाँ खतराका कारण बमवर्षक विमानहरू हटाइएको भन्ने अमेरिकी मिडियाको रिपोर्टलाई ट्रम्पको भनाइले पुष्टि गरेको छ । 

ह्वाइट हाउस बाहिर पत्रकारहरूसँग कुरा गर्दै ‘विशिष्ट खतरा’का कारण विमानहरू हटाइएको हो भनी सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘अँ, हामी त्यसै भन्न सक्छौँ । ती विमानहरू झुक्किएर उडेका होइनन् । त्यहाँ केही खतराहरू थिए । शत्रुलाई मौका दिनुभन्दा उनीहरूलाई नियन्त्रणमा लिएर परास्त गर्नु राम्रो हुन्छ । तर हामीले ती विमानहरूलाई त्यहीँ किन छाड्ने ? त्यसैले हामीले तिनलाई थोरै फरक ठाउँमा सारेका हौँ, धेरै टाढा होइन ।’

वासिङ्टनलाई खतरा उत्पन्न गराउने व्यक्तिहरूबारे थाहा भएको दाबी ट्रम्पले गरे पनि ती को हुन् भन्नेबारे भने पुष्टि गरेनन् । पछि पुनः सोधिएको प्रश्नमा उनले ती व्यक्तिहरू ‘इरानसँग जोडिएका हुन सक्ने’ बताएका छन् ।

प्रतिक्रिया