info@nawayug.com

यो देश ढुंगाहरूको हो कि मान्छेको ?: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमा विवाद सम्बन्धी अभिव्यक्ति सच्याइनुपर्ने दोहोर्‍याएका छन् ।

तर यस्तो माग सरकारले नसुनेको उनको गुनासो छ ।

‘प्रतिपक्ष बोलिरहने । सत्तापक्ष नसुनिकन अगाडि बढिरहने गर्नु हुँदैन,’ शुक्रबार उनले प्रतिनिधिसभाको बैठकमा भने, ‘हामीले प्रधानमन्त्रीज्यूको जवाफ माग गरेको एक महिना धेरै भइसक्यो । प्रधानमन्त्री ज्यूको वक्तव्य सच्याउनुपर्छ भनेर आन्दोलन गरेको, प्लेकार्ड बनाएर उभिएको पनि १६ दिन भएछ ।’

यही जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिएका थिए ।

उनले भनेका थिए, ‘तपाईंहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र हैन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’

यो विषयमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन् । तर, प्रधानमन्त्री आफ्नो अभिव्यक्तिउपर उठेको प्रश्नको जवाफ दिन संसद्मा फेरि उपस्थित भएका छैनन् ।

यो विषयमा पश्न उठाउँदै साम्पाङले भने, ‘सभामुख ज्यूलाई पनि त्यो उहाँ (प्रधानमन्त्री)ले बोल्नुभएको राष्ट्रघाती जुन एउटा शब्द छ, वाक्यांस त्यसलाई डिलिट गरियोस् भनेको पनि त्यति नै दिन भयो ।’

यहाँनेर उनले कसैले कसैको कुरा नसुनेको भनेर देश ढुंगाहरूको हो कि मान्छेको भन्ने प्रश्न गरेका हुन् ।

उनले भनेका छन्, ‘अब तपाईंले पनि नसुन्ने, उहाँ (प्रधानमन्त्री)ले पनि नसुन्ने, कसैले कसैको केही पनि नसुन्ने ढुंगाहरूको देश हो या मान्छेको देश रु अचम्म लागेको छ ।’

मान्छेमा जिम्मेवारीबोध हुनुपर्ने उनको आग्रह छ ।

‘हामी जिम्मेवार बन्नुपर्छ । जिम्मेवारीले मात्रै मान्छेलाई मान्छे बनाउँछ’ साम्पाङ भन्छन्, ‘मान्छे बन्नका लागि भात खाएर, टाइ सुट लगाएर, राम्रो लुगा लगाएर हिँड्दैमा हुँदैन । चिप्लो चाप्लो गाडी चढेर ठूला घरमा बस्दैमा हामी मान्छे बन्दैनौं । हामीमा नैतिकता हुन जरुरी छ, जवाफदेहिता हुन जरुरी छ ।’

प्रतिक्रिया