info@nawayug.com

अन्तिम क्षणमा हालान्डको निर्णायक पेनाल्टी, नर्वेको रोमाञ्चक जित

काठमाडौँ । एर्लिङ हालान्डले अन्तिम क्षणमा पेनाल्टीमार्फत गोल गरेपछि नर्वेले डेनमार्कलाई पराजित गर्दै यूईएफए नेसन्स लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ ।

दुई गोलले पछि परेको नर्वेले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । बराबरी खेले पनि समूह ए–४ बाट क्वाटरफाइनलमा पुग्ने अवस्थामा रहेको डेनमार्क अन्तिम समयमा सम्हालिन सकेन ।

खेलमा डेनमार्कले तीन मिनेटको अन्तरमा दुई गोल गर्दै अग्रता बनाएको थियो । म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर रासमस होयलुन्डले आफ्नो पछिल्लो ६ अन्तर्राष्ट्रिय खेलमा पाँचौँ गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए । त्यसपछि कप्तान पिएर एमिल होयबर्गले हेडरमार्फत अर्को गोल थपे ।

तर नर्वेले पुनरागमन गर्‍यो । आर्सनलका मार्टिन ओडेगार्डले गोलकिपरको गल्तीको फाइदा उठाउँदै हालान्डका लागि गोलको अवसर सिर्जना गरे । हालान्डले नजिकबाट गोल गर्दै अन्तर घटाए ।

खेल सकिन सात मिनेट बाँकी रहँदा ओडेगार्डले रिबाउन्डमा गोल गर्दै नर्वेलाई २-२ को बराबरीमा पुर्‍याए । आन्द्रेयास स्केल्डरुपको प्रहार पोस्टमा लागेर फर्किएपछि आएको बललाई उनले जाली चुमाएका थिए ।

खेल बराबरीमा सकिने अनुमान भइरहेका बेला डेनमार्कका जोआखिम एन्डरसनले पेनाल्टी क्षेत्रमा ह्यान्ड गरे । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा रेफ्रीले पेनाल्टी दिएपछि हालान्डले अन्तिम क्षणमा गोल गर्दै नर्वेको रोमाञ्चक जित पक्का गरे ।

प्रतिक्रिया