काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।
कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले कर्णालीलाई जितका लागि १७७ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङ थालेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन जोड्यो ।
सुरुवातमै आक्रामक ब्याटिङ गरेको सुदूरपश्चिमले ५ ओभरमै ५० रन कटायो । पावरप्लेमा टोलिले बिना विकेटको क्षतिमा ६३ रन बनायो । विनोद भण्डारी र सैफ जइबको ओपनिङ साझेदारीले सुदूरपश्चिम ठूलो स्कोरतर्फ अघि बढ्दै थियो ।
तर, भण्डारी २७ रनमा रनआउट भए भने जइबलाई कर्णालीका सुर्य तामाङले ३५ रनमा पभेलियनको बाटो देखाए । दुई ओपनर आउट भएपछि सुदूरपश्चिमको ब्याटिङ सुस्त भयो ।
कप्तान दीपेन्द्र सिंह ऐरी पनि रनआउट हुन पुगे । उनी रनआउट हुँदा सुदूरपश्चिम ११.४ ओभरमा ३ विकेट गुमाएर ९५ रनको अवस्थामा थियो । १४ बल खाएका ऐरीले १० रनमात्रै बनाए । ब्रेन्डन म्याकमुलनले १६ बलमा २४ रन जोडे ।
पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका ईशान पाण्डेले २३ रन बनाए । उनले १५ औं ओभरमा जीवनदान पाए । डेभिड मिलरले उनको क्याच मिस गरे । तर, दोस्रो पटक भने मिलरले गल्ती गरेनन् । उनले पाण्डेकै उत्कृष्ट क्याच लिए ।
सातौं नम्बरमा ब्याटिङ गर्न आएका थारिन्दु रत्नायकेले आक्रामक ब्याटिङ गर्दै सुदूरपश्चिमको योगफल उकासे । उनी २२ रनमा अविजित रहे । यस्तै स्कट कुगलेइनले नटआउट १३ रन बनाए ।
बलिङतर्फ कर्णालीका मार्क वाटले दुई तथा नन्दन यादव, सुर्य तामाङ र हुसैन तलातले एक-एक विकेट लिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com