बाजुरा । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।
गए राति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।
सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली पहिरोस्थलतर्फ खटाइएको छ।
प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसीबी प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा समेत पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ।
पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ। गन्तव्यतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com