info@nawayug.com

ठमेल दुर्व्यवहार प्रकरण : कारबाहीबाट बच्न आरोपीले बदले हुलिया

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ स्थित ठमेलमा युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भदौ १८ मा भएको दुर्व्यवहारमा संलग्न आरोपमा काठमाडौँ–१४ कलङ्की घर भएका सालिन साहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । तर, ३० वर्षीय साह घटनास्थलमा दुर्व्यवहार गर्दाको अवस्थामा भन्दा फरक हुलियामा भेटिएका छन् ।

ठमेलमा हिँडिरहेकी युवतीलाई ब्याट टच गर्दा लामो कपालमा देखिएका साह पक्राउ पर्दा कपाल छोटो बनाएको अवस्थामा भेटिएका छन् । शनिबार साँझ पक्राउ परेका साह नै आरोपी हुन् या होइनन् भनेर सनाखतको लागि पीडितलाई बोलाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएपी सन्तोष खड्काले बताए । उनले भने– ‘हुलिया परिवर्तन गरेको अवस्थामा सशंकितलाई नियन्त्रणमा लिएका छौँ, पीडितलाई बोलाएर यकिन गरेपछि कारबाही प्रक्रिया अघि बढ्छ ।’

घटनापछि घरमा गएर कपाल काटेर छोटो बनाएको आरोपीले अनुसन्धान अधिकृतहरूसँग बताएका छन् । ठमेलमा पैदल हिँड्दा युवतीलाई ब्याट टच गरेर अपशब्द बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले त्यसबारे अनुसन्धान सुरु गरेको थियो । 

प्रतिक्रिया