काठमाडौं । नुवाकोटको एउटा मिनिमार्टमा २४ शव फेला परेको छ । विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमबार (भदौ १५) खोजतलास तथा उद्धारका क्रममा ती शव भेटिएको नुवाकोट प्रहरीका प्रमुख एवं एसपी विपिन रेग्मीले जानकारी दिए ।
यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपश्चात् खोजी तथा उद्धारका क्रममा त्यहाँ २४ शव भेटिएको उनले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यका निम्ति प्रहरीले ड्रोन क्यामेराको सहयोगमा काम गरिरहेको थियो । त्यहीक्रममा प्रहरीले ड्रोन क्यामेरामा एउटा शव देख्यो ।
ड्रोन क्यामेरामा कैद भएको विवरणका आधारमा प्रहरी त्यसतर्फ प्रस्थान गरेको थियो । उक्त शव फेला परेको घर स्थानीय बच्चुराम अवस्थीको भएको प्रहरीले जनाएको छ ।
घर वरिपरि बाढीले बगाएर ल्याएको दलदले हिलोले घेरेका कारण देखिएको शवसम्म पुग्न कठिनाइ भएको थियो । नजिकै भग्नावशेषबाट प्रहरीले जस्ताको पाता, काठ, डोरीलगायत सामग्री बटुल्यो । र, दलदले हिलोमाथि उक्त सामग्री प्रयोग गरी प्रहरी निरीक्षकद्वय महेन्द्र दर्नाल र युवराज कटुवालको टोली शव भएको उक्त घरसम्म पुगेको थियो ।
त्यो घरमा प्रवेश गरेपछि त्यहाँ अरू पनि शव हुन सक्ने आशंकामा खोजी गरियो । त्यसक्रममा अरू २३ शव भेटिएको थियो । त्यहाँ एक बालिका, ११ पुरुष र १२ महिलाको शव भेटिएको प्रहरीले जनाएको छ ।
संकलितमध्ये १० शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइसकेको एसपी रेग्मीले जानकारी दिए । बाँकी शव पनि यही अस्पतालमा पठाइने उनले बताए ।
“शवको मुचुल्का कार्य सम्पन्न गरी शव व्यवस्थापनको लागि पठाउने कार्य भइरहेको छ,” प्रहरीले भनेको छ, “दलदले हिलोका कारण उक्त स्थानमा शव व्यवस्थापनको लागि हेलिकोप्टर नै आवश्यक रहेको हुँदा निकै कठिनाइ भइरहेको छ ।”
त्यस क्षेत्रमा उद्धार तथा खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com